बैंकिङ खबर । चीनले बैंक कर्जाको प्रमुख ब्याजदर लगातार १६औँ महिनासम्म यथावत् राखेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले सेप्टेम्बरका लागि एक वर्षे लोन प्राइम रेट (एलपीआर) ३ प्रतिशत र पाँच वर्षे एलपीआर ३.५० प्रतिशतमा कायम राखेको हो । सेप्टेम्बर २० मा सार्वजनिक गरिएको एलपीआर दुवै दर अघिल्लो महिनाकै स्तरमा छन् ।
चीनमा ब्याजदर लामो समयदेखि न्यून रहे पनि त्यसले कर्जाको मागलाई अपेक्षित रूपमा बढाउन सकेको छैन । पछिल्लो तथ्यांकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा बैंकिङ प्रणालीको मुख्य चुनौती ब्याजदरभन्दा पनि ऋण लिन चाहने ग्राहकको कमजोर माग बन्दै गएको देखाएको छ । पीबीओसीको तथ्यांकअनुसार अगस्टमा चिनियाँ बैंकहरूले कुल ६० अर्ब युआन नयाँ युआन कर्जा प्रवाह गरेका छन् । यो बजारले अपेक्षा गरेको ४०० अर्ब युआनभन्दा निकै कम हो । अघिल्लो वर्षको अगस्टमा नयाँ कर्जा प्रवाह ५९० अर्ब युआन थियो । जुलाईमा भने चिनियाँ बैंकको नयाँ युआन कर्जा ३४० अर्ब युआनले घटेको थियो । त्यसपछि अगस्टमा कर्जा विस्तार पुनः सकारात्मक भए पनि अपेक्षाभन्दा निकै कमजोर रह्यो ।
जनवरीदेखि अगस्टसम्म चिनियाँ बैंकहरूको नयाँ युआन कर्जा प्रवाह १०.४४ ट्रिलियन युआन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४६ ट्रिलियन युआन थियो । अर्थात् एक वर्षको अवधिमा आठ महिनामै नयाँ कर्जा प्रवाहमा उल्लेख्य कमी आएको छ ।
त्यस्तै, अगस्टमा बैंकहरूको बक्यौता युआन कर्जा अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशत मात्रै बढेको छ । जुलाईमा यस्तो वृद्धि ५.१ प्रतिशत थियो । यो तथ्यांक उपलब्ध भएयताकै न्यून वृद्धि दर भएको रोयटर्सले जनाएको छ ।
घरपरिवारको कर्जा मागमा लगातार दबाब
चीनमा कर्जाको माग कमजोर हुनुमा घरपरिवारतर्फको ऋण मागमा आएको गिरावट महत्वपूर्ण कारण बनेको छ । अगस्टमा घरपरिवारको कर्जा लगातार छैटौँ महिनामा घटेको छ । विशेषगरी घरजग्गा बजारमा देखिएको कमजोरीले आवास कर्जाको मागलाई प्रभावित गरिरहेको छ ।
चिनियाँ सरकारले घरजग्गा बजारलाई स्थिर बनाउन विभिन्न उपाय अघि सारे पनि आवास क्षेत्रमा कर्जाको माग अझै कमजोर छ । सरकारले विकासकर्ताका लागि वित्तीय सहयोग बढाउनुका साथै नयाँ घर खरिदकर्तालाई सहज बनाउन अधिकतम धितो कर्जाको अवधि ३० वर्षबाट ४० वर्षसम्म पुर्याउने उपायसमेत अघि सारेको छ । तर यसले तत्कालै घरजग्गा तथा आवास कर्जाको मागमा ठूलो सुधार ल्याउने संकेत देखिएको छैन । घरजग्गा क्षेत्रको जोखिम बैंकहरूको ऋण पोर्टफोलियोमा समेत देखिन थालेको छ । रोयटर्सका अनुसार चिनियाँ वित्तीय नियामकहरूले ठूलो घरजग्गा कम्पनी भान्केसँग सम्बन्धित केही बक्यौता कर्जालाई तत्काल खराब कर्जाका रूपमा वर्गीकरण नगर्न र भुक्तानी अवधि थप गर्न प्रमुख बैंकहरूलाई अनौपचारिक निर्देशन दिएको स्रोतहरूले बताएका छन् । यो कदमले घरजग्गा क्षेत्रको समस्या बैंकिङ प्रणालीमा थप फैलिन नदिन खोजिएको संकेत गर्छ ।
बैंकको नाफामा ब्याजदरको दबाब
कम ब्याजदर र कमजोर कर्जा मागको असर चिनियाँ बैंकहरूको नाफा र नेट इन्ट्रेस्ट मार्जिनमा समेत परेको छ । २०२६ को दोस्रो त्रैमासिकसम्म चिनियाँ वाणिज्य बैंकहरूको औसत नेट इन्ट्रेस्ट मार्जिन १.४१ प्रतिशत रहेको छ । यद्यपि पहिलो त्रैमासिकको तुलनामा सामान्य सुधार देखिए पनि बैंकहरूको मार्जिन अझै न्यून स्तरमा छ ।
चीनका ठूला सरकारी बैंकहरूको पहिलो अर्धवार्षिक वित्तीय विवरणमा भने केही सुधार देखिएको छ । आईसीबीसी, चाइना कन्स्ट्रक्सन बैंक, एग्रिकल्चरल बैंक अफ चाइना, बैंक अफ चाइना, बैंक अफ कम्युनिकेसन्स र पोस्टल सेभिङ्स बैंक अफ चाइनाले २०२६ को पहिलो अर्धवार्षिकमा आम्दानी तथा खुद नाफामा वृद्धि रिपोर्ट गरेका छन् । तर उनीहरूको मार्जिनमा देखिएको सुधारलाई व्यापक कर्जा मागमा आएको सुधारसँग जोड्न भने अझै पर्याप्त आधार छैन । उदाहरणका लागि चाइना कन्स्ट्रक्सन बैंकको पहिलो अर्धवार्षिक नेट इन्ट्रेस्ट मार्जिन १.३७ प्रतिशत रहेको छ । सो अवधिमा बैंकको खुद नाफा ५.५६ प्रतिशतले बढेको छ भने खराब कर्जा अनुपात १.२९ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।
बैंकलाई बलियो बनाउन ५४ अर्ब डलरको पूँजी योजना
कर्जा माग कमजोर भइरहेका बेला चीनले बैंक तथा बीमा कम्पनीको पूँजी आधार बलियो बनाउन पनि कदम अघि बढाएको छ । चीनको वित्त मन्त्रालयको नेतृत्वमा राज्य स्वामित्वका बैंक तथा बीमा कम्पनीमा करिब ५४ अर्ब अमेरिकी डलर बराबरको पूँजी थप्ने योजना अघि सारिएको छ । आईसीबीसी र एग्रिकल्चरल बैंक अफ चाइनाजस्ता ठूला सरकारी बैंकको कोर टियर–१ पूँजी बलियो बनाउने उद्देश्यले पनि यो योजना ल्याइएको हो । कमजोर ब्याज आम्दानी र न्यून मार्जिनको वातावरणमा बैंकहरूको पूँजी क्षमता कायम राख्दै अर्थतन्त्रमा कर्जा प्रवाह गर्न सक्ने क्षमता बलियो बनाउनु यसको प्रमुख उद्देश्य देखिन्छ ।
यसले चीनको बैंकिङ क्षेत्रमा अहिलेको समस्या केवल तरलताको नभई कर्जा माग, बैंकको आम्दानी र अर्थतन्त्रको समग्र गतिविधिसँग जोडिएको देखाउँछ । बैंकमा पूँजी र तरलता उपलब्ध भए पनि व्यवसायी तथा घरपरिवारले नयाँ ऋण लिन नचाहेमा बैंकको कर्जा विस्तार स्वाभाविक रूपमा सुस्त हुन्छ ।
चीनबाट देखिएको बैंकिङको अर्को चुनौती
चीनको पछिल्लो अवस्थाले एउटा महत्वपूर्ण बैंकिङ चुनौती देखाएको छ-ब्याजदर घटाउनु मात्रै कर्जा विस्तारको पर्याप्त उपाय नहुन सक्छ । अगस्टमा चीनको एम२ मुद्रा आपूर्ति ७.५ प्रतिशतले बढेको थियो । यो १७ महिनायताकै न्यून वृद्धि हो । त्यस्तै, कुल सामाजिक वित्तीयकरण ७.२ प्रतिशतले बढेको थियो । यसले वित्तीय प्रणालीमा पैसा र वैकल्पिक वित्तीय स्रोतको विस्तार भइरहे पनि त्यसको तुलनामा परम्परागत बैंक कर्जाको माग कमजोर रहेको संकेत गर्छ ।
कम्पनीहरूले बैंक कर्जाको सट्टा बन्ड तथा अन्य वित्तीय बजारमार्फत रकम जुटाउने प्रवृत्ति पनि बढेको देखिन्छ । त्यसैले बैंकिङ प्रणालीमा पर्याप्त स्रोत उपलब्ध हुनु र त्यसबाट वास्तविक अर्थतन्त्रमा कर्जा प्रवाह हुनु एउटै कुरा होइन ।
चीनको अनुभवले अर्थतन्त्रमा उपभोग, लगानी र व्यवसायिक विश्वास कमजोर हुँदा न्यून ब्याजदरले मात्रै कर्जाको माग सिर्जना गर्न नसक्ने देखाएको छ । अहिले चिनियाँ बैंकिङ प्रणालीका लागि चुनौती ब्याजदरलाई अझ घटाउनेभन्दा ऋण लिन चाहने वातावरण कसरी निर्माण गर्ने, घरजग्गा क्षेत्रको जोखिम कसरी व्यवस्थापन गर्ने र बैंकको आम्दानी तथा पूँजीलाई कसरी सुरक्षित राख्ने भन्नेमा केन्द्रित हुँदै गएको छ ।
यसरी हेर्दा चीनको पछिल्लो बैंकिङ अवस्था विश्वका अन्य अर्थतन्त्रका लागि पनि एउटा महत्वपूर्ण संकेत बनेको छ । बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुनु, ब्याजदर न्यून हुनु र कर्जा विस्तार हुनुबीच स्वतः सम्बन्ध हुँदैन । अन्ततः कर्जाको माग बढाउन अर्थतन्त्रमा लगानी, उपभोग र व्यवसायिक गतिविधिमा सुधार आवश्यक हुन्छ ।