काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर उपहार नुवाकोटकी सन्त माया तामाङले जितेकी छन् । उनले १० लाख रुपैयाँको बम्पर उपहार हात पारेकी हुन् ।
नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’बाट दसैंका लागि ३ हजार रुपैयाँ बराबरको सामग्री खरिद गरेकी तामाङको बिलबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो । महाअष्टमीका दिन काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कम्प्युटर प्रणालीमार्फत बम्पर उपहारको कुपन नम्बर छनोट गरिएको थियो । कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको उपस्थितिमा विजेता छनोट गरिएको हो ।
विजेता छनोटपछि तामाङलाई टेलिफोनमार्फत जानकारी गराइएको थियो । सुरुमा उनले प्राप्त भएको सूचनालाई विश्वास नगरे पनि कार्यक्रम आयोजकबाट आधिकारिक पुष्टि भएपछि आफू बम्पर उपहारको विजेता भएको थाहा पाएकी थिइन् । बम्पर उपहार रकम दाबी गर्न सम्बन्धित खरिदको सक्कल बिल अनिवार्य हुने भएकाले तामाङले सामान खरिद गर्दा प्राप्त गरेको बिल सुरक्षित राख्नुपर्नेछ । यसैगरी, उनलाई चलचित्र ‘छ माया छपक्कै २’ को टिकटसमेत उपलब्ध गराउने घोषणा गरिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १६ गतेदेखि ३१ गतेसम्म वस्तु तथा सेवा खरिद गर्दा बिल लिएका सेवाग्राहीहरूलाई उक्त चरणको गोलाप्रथामा सहभागी गराइएको थियो । यस अवधिमा बिल इन्ट्री गरेका तथा डिजिटल (क्यूआर) भुक्तानी गरेका गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार प्रणालीमा सहभागी भएका थिए । ती कारोबारमध्येबाट बम्पर उपहारका लागि कुपन छनोट गरिएको हो । यसै चरणअन्तर्गत असोज १६ गतेदेखि ३१ गतेसम्मका प्रत्येक दिनका लागि एक–एक जना गरी १६ जना दैनिक विजेतासमेत छनोट भएका छन् । दैनिक विजेताले कर कट्टीपछि जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । घोषित रकमअनुसार प्रत्येक विजेताका लागि १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ बराबरको उपहार रकम निर्धारण गरिएको थियो ।