विहीबार पनि सेयर बजार बढेको छ । कारोबार खुलेको सुरुदेखि नै सामान्य रुपमा बढेको सेयर बजार अन्ततः १५३०.०६ अंकमा पुगेको छ । बुधबार ६.६५ अंकले बढेको सेयर बजार विहीबार १३.९८ अंकले बढेर बन्द भएको हो । उपसूचकहरुलाई हेर्दा सबैभन्दा धेरै बीमा समूह ९२.२३ अंकले बढेको छ भने होडल ३३.८८, विकास बैंक २०.०१ र बैंकिङ १३.५३ अंकले बढेका छन् । जलविद्युत् र फाइनान्स क्रमशः ८.७९ र ६.५४ अंकले बढेका छन् । उत्पादनमूलक ६.५० अंकले घटेको छ भने अन्य समूह स्थिर रहेको छ ।
बजार बढेपछि कारोबारमा भने खासै सुधार आउन सकेको छैन । बुधबार ४८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको बजारमा विहीबार ४९ करोडको कारोबार भएको छ । दिनभरिमा १३८ वटा कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर तीन हजार छ सय ८३ पटक खरिदविक्री हुँदा कुल ४९ करोड ३९ लाख ३० हजार पाँच सय २५ रुपैयाँ पुँजी परिचालन भएको हो ।
विहीबार परिचालित कुल पुँजीमध्ये, एभरेष्ट बैंकको आठ करोड ३० लाख ९३ हजार नौ सय १४ रुपैयाँको कारोबार भएको छ भने माछापूछ्रे बैंकको साढे दुई करोड, सिद्धार्थ बैंकको दुई करोड र बैंक अफ काठमाण्डू लुम्बिनीको पौने दुई करोडको कारोबार भएको छ । चिलिमे हाइड्रो, एसियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, मेगा बैंक, युनिलिभर नेपाल, नेपाल एसबिआई बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
समिट माइक्रोफाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा सप्तकोसी डेभलपमेन्ट बैंक, डिप्राक्स डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, राष्ट्रिय बीमा कम्पनी, नमस्ते वित्रीय संस्था, अरुण फाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९५, ८.१२, ८.०७, ७.८४, ७.२७, ७.१४, ६.०१ र ५.९९ प्रतिशतका दरले कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको अपि पावर कम्पनीका सेयरधनीले ३.५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा युनाइटेड फाइनान्स र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ३.०५ र २.७४ प्रतिशतका दरले गुमाएका छन् । मिथिला लघुवित्त, भार्गव विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंक, लक्ष्मी लघुवित्त, युनिलिभर नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



