२०.६० प्रतिशत बोनस सेयर वितरणका लागि फेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ । उक्त बोनस सेयर बैंकको नवौंं बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ । बोनस वितरणपश्चात फेवाको चुक्तापुँजी एक अर्ब १९ करोड ९९ लाख सत्तरी हजार रुपैयाँ पुग्ने छ ।
पुँजीवृद्धिका लागि फेवा विकास बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो । नेपाल राष्ट्र बैंकबाट सहमती पत्र आइसकेको बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा १३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको गण्डकीले १९.५७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी ६४ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।
गण्डकी र फेवा दुबैले बोनस सेयर जारी गरेपछि मर्जरपछि बन्ने बैंकको चुक्तापुँजीमा झन्डै ३० करोड रुपैयाँ थप हुनेछ । समग्रमा गण्डकीसँग मर्जरमा गएपछि फेवाको चुक्तापुँजी एक अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी पुर्याउन बैंकले हकप्रद सेयर जारी गर्ने र चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।


