
बैंकिङ खबर/ एक बैंकका कर्मचारी भन्छन्,‘तलब नबढेको ३ वर्ष भन्दा धेरै भो । महंगी पनि ३ वर्षदेखि नबढेको भए नेपाली नेपालमै बस्थे होलान् । प्रहरीमा जस्तै नेपाली बैंकिङ क्षेत्रमा पनि माथिल्लो तहका हाकिमहरुको रिटायरमेन्ट हुने बेलामा गरिने बढुवा प्रवृत्ति मौलाएको छ । तर के गर्नु साना तहका कर्मचारीलाई कोही काखा कोही पाखा गरिन्छ । त्यसैले नेपालीहरु अझै पनि विदेशिने छन् । हेक्का रहोस्,नेपालीहरु अहिले पैसा भन्दा पनि ब्यालेन्स लाइफ जिउन चाहन्छन् ।’
अर्का बैंककै कर्मचारी भन्छन्,‘नीजि बैंकमा तलब नबढेको करिब ८ वर्ष भयो, अनि कसरी बैंकका कर्मचारी टिक्न सक्छन । बिहान ९ बजेदेखि राति ७÷८ बजेसम्म बैंकभित्र नै काम गर्नुपर्छ ।’
अर्का कर्मचारी भन्छन्,‘के गर्नु सरकारको नीति नियमहरु नै त्यसरी आउँछ । कि बैंक र बैंकर दुबैलाई देश छोड्न बाध्य तुल्याउँछ ।’ यी त बैंकमा काम गर्ने कर्मचारीका केही प्रतिनिधि अनुभवहरु मात्रै हुन् । तर पछिल्लो समय बैंकमा काम छोड्ने कर्मचारीको संख्या बढ्दै गएको छ ।
एक वर्षमा ३ हजार बढी कर्मचारीले छाडे जागिर
पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा कार्यरत तीन हजार बढी कर्मचारीले जागिर छाडेका छन् । बैंकर्स संघका अनुसार २०७९÷८० मा ४४ हजार ९ सय ६२ जना रहेको कर्मचारी संख्या २०८०/ ८१ मा ३३ सय ५९ ले घटेर जम्मा ४१ हजार ६ सय ३ जनामा सीमित भएको छ ।
बैंकको पेलानमा परेकाहरु सहन नसकी राजीनामा दिने, अन्य पेसा व्यवसाय गर्ने र नभए विदेश पलायन हुनु प्रमुख कारण बनेको छ । अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ । प्रायः ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजीनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् ।
वार्षिक १५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने अधिकृत तहका कर्मचारीले पनि राजीनामा गर्दै विदेशी जान खोजेका छन् । बैंकरहरुका अनुसार गत वर्षमात्रै बैंकमा काम गरिरहेका ६-७ सय जना कर्मचारी जागिर छाडेर विदेशिएका छन् ।
बैंक वित्तीय संस्थाले विगतमा कर्जा लगानी गर्न दबाब दिएको अहिले व्यवसायीक वातावरण विग्रेको अवस्थामा जसरी पनि कर्जा असूल गर्न टार्गेट दिँदा काम गर्न समस्या भएको कर्मचारीहरु बताउँछन् । अर्कोकुरा मर्जरपछि अर्को बैंकबाट आएका संस्थालाई व्यवस्थापनले बढी पेल्न थालेको छ । यसरी व्यवस्थापनको पेलाइ खाएर बस्नुभन्दा जागिरै छाडेर विदेशिनेहरु धेरै छन् ।
बैंकर्स संघले गरेको ‘कर्मचारी सर्वेक्षण’को नतिजाले बैंकिङ क्षेत्रको तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट रहेका कर्मचारीको अनुपात पछिल्लो २ वर्षमा करिब साढे ५ प्रतिशत बिन्दुले घटेको छ ।
सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पुर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ । २०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ ।
यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ । सन् २०२२ मा २१.०७ प्रतिशत कर्मचारी तलबप्रति असन्तुष्ट रहेकोमा २०२४ मा उक्त अनुपात बढेर २४.१० प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । आंशिक सन्तुष्ट रहेका कर्मचारीको अनुपात ५५.५४ प्रतिशतबाट बढेर ५७.९० प्रतिशत पुगेको हो ।
तलब मात्रै नभएर अन्य सेवासुविधामा असन्तुष्ट रहेको कर्मचारीको संख्या पनि बढ्दो छ । अन्य सेवासुविधामा पुर्णसन्तुष्ट कर्मचारी २०२२ मा १८.९७ प्रतिशत रहेकोमा २०२४ मा १३.४४ प्रतिशत मात्रै छ । आंशिक सन्तुष्ट कर्मचारीको अनुपात केही बढेको देखिन्छ । २०२२ मा यस्तो अनुपात ५६.२१ प्रतिशत रहेकोमा २०२४ मा ५८.५६ प्रतिशत पुगेको छ । यस्तै असन्तुष्ट कर्मचारी २४.८३ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको हो ।
बैंकमा करियर सुरक्षित नदेख्ने कर्मचारी बढ्दै
बैंकिङ क्षेत्रमा आफ्नो करियर वृद्धिको अवसर नदेख्ने कर्मचारी अनुपात २ वर्षको अवधिमा करिब ९ प्रतिशत बिन्दुले बढेको छ। बैंकर्स संघको सर्वेक्षण अनुसार २०२२ मा बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर नदेख्ने कर्मचारीको अनुपात २२.९५ प्रतिशत मात्रै थियो । २०२४ मा आउँदा उक्त अनुपात बढेर ३१.७६ प्रतिशत पुगेको छ । त्यहि बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा झरेको छ ।
बैंकिङ क्षेत्रका कर्मचारीले करियर वृद्धिको अवसर नदेखेको मात्रै होइन बैंकको जागिर र करियर नै असुरक्षित रहेको महशुस गर्ने कर्मचारी समेत बढ्दै गएका छन् । यस्तो कर्मचारीको अनुपात २०२२ मा ३९.३० प्रतिशत रहेकोमा २०२४ मा ४३.९६ प्रतिशत पुगेको छ । यस्तै जागिर र करियर सुरक्षित महसुस गर्ने कमीचारी २०२२ मा ६०.७० प्रतिशतबाट २०२४ मा ५६.०४ प्रतिशतमा घटेको छ ।
बैंकिङ क्षेत्रमा दबाब हुँदा जागिर छोड्ने प्रवृत्तिमा वृद्धि
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैंकिङ क्षेत्रमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारणजागिर छाड्नेहरूको संख्या बढेको बताउँछन् ।
थापा बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताउँछन् । उनी भन्छन्,‘बैंक परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेको छ, १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिमा वृद्धि भएको छ ।’
‘बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ हो’
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष सुनिल केसी बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ रहेको बताउँछन् । उनी भन्छन्, ‘वित्तीय क्षेत्रमा दक्ष जनशक्ति आगामी दिनमा चुनौतीका रूपमा आउने देखिन्छ । एक दशक अगाडिसम्म नेपालमा एमबीए सकेका दीक्षित युवाको पहिलो रोजाइ बैंकमा जागिर खाने हुन्थ्यो । तर, परिवेश फेरिएको छ ।’
बैंकिङले क्षेत्रले आकर्षक रोजगारीमार्फत नेपालको सामाजिक अर्थतन्त्रको विकासमा ठूलो योगदान पु¥याएको थियो । जसले सामाजिक परिवेश र अवस्था नै परिवर्तन गर्न मद्दत गरेको थियो । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य यूएई, कतार, मलेसियाजस्ता मुलुक हुँदा शिक्षित युवाहरूको रोजाइ राम्रो सेवा–सुविधाका कारण बैंकिङ क्षेत्र हुने गरेको थियो । बदलिँदो सामाजिक परिवेशसँगै शिक्षित युवाहरूको पहिलो रोजाइ नेपालमा रोजगारीभन्दा पनि युरोप, अमेरिकामा जस्ता मुलुकमा अवसर खोज्न लागेका उनी बताउँछन् । बैंकिङ क्षेत्रमा राम्रो पदमा कार्यरत कर्मचारीहरुले समेत देश छोड्दा बैंकिङ क्षेत्रले आगामी दिनमा नेतृत्व गर्ने जनशक्ति नै नपाउने हो कि भन्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘जुन बैंकिङको लागि ठुलो ‘थ्रेट’ हो । बैंकिङ क्षेत्रमा थाहा नहुने गरी बढिरहेको मानवीय पुँजीको समस्या सम्बोधन गर्नुपर्ने चुनौती भने छ । यद्यपि नेतृत्व विकासको चुनौतीसँगै नयाँ अवसर सिर्जना पनि गर्नेछ ।’




