सोमबार दुई पटक सर्किट ब्रेक लागेर एक्कासि ४१ अंकले बढेको सेयर बजार मंगलबार पनि बढेको छ । सोमबार १५१०.७७ अंकमा पुगेर बन्द भएको बजार मंगलबार ४३.०१ अंकको वृद्धिसँगै १५५३.१७ अंकमा पुगेर बन्द भएको छ । बीमा र जलविद्युत् समूहले मंगलबारको सेयर बजारलाई बढाएका छन् । यी समूह क्रमशः ३३९.४१ र १०३.७९ अंकले बढेका छन् । बैंकिङ र विकास बैंक समूहले पनि क्रमशः ४३.१९ र ४०.५ अंकले बढ्दै बजारको वृद्धिमा सघाएका छन् । फाइनान्स समूह पनि ८.०४ अंकले बढेको छ । होटल, उत्पादनमूलक र अन्य समूह भने क्रमशः ०.०१, २१.२८, १.१५ अंकले घटेका छन् ।
गिरावटको क्रममा ठूला कम्पनीहरुको सेयर मूल्य घटेसँगै नयाँ लगानीकर्ताहरुको प्रवेश बढ्दा सेयर कारोबारमा पनि लगातार सुधार देखिएको छ । सोमबार एक अर्ब नौ करोडको कारोबार भएको बजारमा मंगलबार एक अर्ब १६ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १३१ वटा कम्पनीको १३ लाख ७५ हजार एक सय ६५ कित्ता सेयर सात हजार चार सय ५२ पटक खरिदबिक्री हुँदा कुल एक अर्ब १६ करोड नौ लाख सात हजार नौ सय ६२ रुपैयाँ पुँजी परिचालन भएको छ ।
कुल कारोबारमध्ये एभरेष्ट बैंकको १४ करोड ९४ लाख २५ हजार पाँच सय ३० रुपैयाँको सेयर कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको पाँच करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको चार करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको सवा चार करोडको कारोबार भएको छ । सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र लुम्बिनी जेनेरल इन्स्योरेन्सको पनि चार करोड १५ लाखमाथिको कारोबार भएको छ । नेपाल एसबिआई बैंकको तीन करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको झन्डै तीन करोडकोम कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको साढे दुई करोडको कारोबार भएको छ ।
बुटवल पावर कम्पनी र राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा राष्ट्रिय बीमा कम्पनी, कञ्चन डेभलपमेन्ट बैंक, निर्धन उत्त्थान बैंक, महिला सहयात्रा माएक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, देवः विकास बैंक, सगरमाथा फाइनान्स, लुम्बिनी फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक र अफि पावर कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका छन् ।
बोटलर्स नेपाल, गुडविल फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतले धेरै गुमाएका छन् ।



