बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ । आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई यो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण गर्दे गरेका आयोजनामा लगानी गरिने पनि कम्पनीले जनाएको छ ।
कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । १ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा २ अर्ब १३ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ दशमलव २८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ६ सय २७ दशमलव ८९ गुणा र प्रतिशेयर नेटवर्थ २ सय २६ दशमलव १५ रुपैयाँ रहेको छ ।


