
बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लि. बाग्लुङ शाखाले ३ दिने अचार बनाउने तालिम सम्पन्न गरेको छ । तालिममा बागलुङ शाखाका करिब ३७ जाना ग्राहक सदस्य तथा अभिभावकको उपस्थिति रहेको थियो ।
विभिन्न किसिमका ‘हाम्रै गाउँघरमा उपलब्ध हुने बस्तु तथा सामग्रीहरूबाट नै आधुनिक तरिकाले व्यवसायिक रूपमा अचार बनाऔँ, बेचौँ पैसा कमाउ र आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिममा सहभागीले माछा तथा मासुको अचार, च्याउको अचार, अकबरे खुर्सानीको पेस्ट अचार, अमलाको अचार, लप्सीको अचार, गुन्द्रुकर भटमास र बदामको अचार, मिक्स अचार लगायतका अचारहरू बनाउन सिकेका थिए । गुणस्तरीय अचार बनाउने प्याकेज गर्न, लेबलिङ गरि सिल गर्न, मूल्य निर्धारण तथा बिक्रीवितरण गर्ने कला समेत सिकेका थिए ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरूलाई व्यवसायी बनाउने उद्देश्यसहित सञ्चालन गरेको उक्त तालिमको दोस्रो दिन अर्थमन्त्री डा.प्रकाश शरण महत, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरूले समेत अवलोकन गरेका थिए ।
सहभागिहरूको प्रतिनिधित्व गर्दै सहभागी विजया लक्ष्मी निउरे उपाध्यायले तालिम अत्यन्तै राम्रो तथा प्रभावकारी रहेको र सिकेका कुराहरूलाई ब्यवहारमा उतार्न सम्पुर्ण सहभागीहरूलाई आग्रह गर्दै नगर प्रमुख समक्ष नगरपालिकाबाट समेत यस्ता किसिमका आम्दानी मुलक व्यवसायिक तालिमहरू ल्याइदिन तथा व्यवसाय गरेका महिला उधमीहरूको व्यवसायको सुरक्षा, गुणस्तर मापन जस्ता विषयहरूमा नगर प्रमुख समक्ष आग्रह गरेका थिए ।
आफ्नो नगरपालिका अन्तरगतका ग्राहकहरूलाई यस्ता किसिमका तालिमहरू ल्याई उद्यमशिलता तर्फ अग्रसर बनाउने काम गरेकोमा छिमेक लघुवित्त वित्तीय संस्थालाई विशेष धन्यवाद दिँदै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले व्यवसायिक रूपमा अगाडि बढ्ने सबै जनता हरूलाई नगरपालिकाले आवश्यक सहयोग तथा सहजीकरण गर्न तयार रहेकाले, आफुहरूले सिकेको सिपलाई सिकाइमा मात्र सिमित नराख्न तथा कार्ययोजना बनाई नगरपालिकामा योजना तर्जुमा गर्नु अगाडि नै नगरपालिकामा बुझाउन सहभागीहरूलाई अनुरोेध गर्दै सबै सहभागीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।
तालिमको प्रशिक्षण गर्नेे नवलपुरकी महिला उद्यमी बसुन्धरा सुबेदीले सहभागीहरूलाई व्यवसायिक रूपमा उत्पादनमा लाग्न आग्रह गर्दै आफ्नो साथ र सहयोग सँधै रहने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् । समापन समारोहको अध्यक्षता छिमेक लघुवित्त बित्तीय संस्था लि.बागलुङ शाखाका शाखा प्रबन्धक सरोज अधिकारीले गरेका थिए भने सञ्चालन बिष्णु न्यौपानेले गरेका थिए ।



