
बैंकिङ खबर/ अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव धनिराम शर्माले सरकारले बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रणनीति बनाइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजानेबारे रणनीति बनिरहेको बताएका हुन् ।
हिजोको दिनमा दिएको ‘रिल्याक्सेन’ (सुविधा)ले बैकिङ पुँजी अनुत्पादनक क्षेत्रतर्फ आकर्षित भएको हुँदा अब उत्पादनमूलक क्षेत्रमा बैंकिङ पुँजी लैजाने सरकारको रणनीति रहेको उनले बताए । त्यसैले सरकारले सीमित पुँजीमा काम गर्न खोजिरहेको शर्माको भनाइ छ ।
‘अहिले हाम्रो (ध्यान) बैंकिङ पुँजी उत्पादनमूलक क्षेत्रमा जानुपर्छ भन्ने छ,’ उनले भने, ‘पुँजी उत्पादनशील क्षेत्रमा लैजान बैंक, रेगुलेटर र सरकारको भूमिका रहन्छ ।’ पछिल्लो समय बैंकिङ क्षेत्रप्रतिको विश्वास घटाउने किसिमका प्रयास भइरहेकोतर्फ सरकार, अर्थ मन्त्रालय र बैंकिङ क्षेत्रले महसुस गरिरहेको शर्माले बताए ।


