
बैंकिङ खबर/सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८ करोड ४१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महीना अवधिमा जीवन बीमक कम्पनीहरुको मुनाफा २ अर्ब ५५ करोड ९० लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १२ ओटा कम्पनीको खुद नाफा वृद्धि हुँदा २ वटाको घटेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको पुसको तुलनामा सबैभन्दा धेरै ९६.४८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । यसैगरी आइएमई लाइफको ९६.१४%, सूर्यज्योति लाइफको ६२.९३% र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ५९.७९% प्रतिशतले वृद्धि गरेको छ । यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महीनामा राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ४४.१५%, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३६.१०%, मेट लाइफको ३३.५३%, नेशनल लाइफ इन्स्योरेन्सको १६.९१%, नेपाल लाइफको १२.९१%, एशियन लाइफको ११.४५% प्रतिशतले बढेको छ । यसैगरी यस अवधिमा रिलायबल नेपाल लाइफको ४.९७% र सबैभन्दा कम सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा २.७३% प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको पुससम्मको तुलनामा सबैभन्दा धेरै ८.२४% ले घटेको छ भने सन नेपाल लाइफको खुद नाफामा पनि ७.२२ % प्रतिशतले गिरावट आएको हो ।



