
बैंकिङ खबर/ देशभरिका लघुवित्त संस्थाबाट प्रतिनिधित्व गर्ने लघुवित्तकर्मी र सदस्यहरुको चौथो सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने सम्मेलनले लघुवित्तमा रहेका विकृति हटाएर शुद्धीकरण गर्ने लक्ष्य लिएको आयोजकले बताएको छ ।
सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले भने, ‘गरिबी निवारण उद्देश्यसहित सञ्चालनमा रहेका लघुवित्तका पनि कहीँ कतै कमजोरी छन्, यसको शुद्धीकरण समेत हामी यो सम्मेलनमार्फत गर्दैछौं ।’ सोहीकारण यस पटकको सम्मेलनको नारा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ राखिएको छ ।
विपन्न वर्गमा कर्जा प्रवाह गर्ने उद्देश्यले तीन दशक अगाडीबाट आधुनिक लघुवित्त प्रणालीको प्रारम्भ भएको हो । तर, पछिल्लो समय लघुवित्त प्रणालीमै प्रश्नहरु उठ्न थालेसँगै यसमा शुद्धीकरणको आवश्यकता रहेको उनले बताए ।
यस पटकको सम्मेलनले गरिबी शून्यमा झार्ने, बेरोजगारी शून्यमा झार्ने र युवा पलायन रोक्ने प्रतिवद्धता गर्ने उनले बताए । अहिले लघुवित्त वित्तीय संस्था र लघुवित्त गर्ने सहकारी संस्था नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरिरहेका छन् । ५७ वटा लघुवित्त संस्थाले ५ हजार ८२ शाखा मार्फत करिव ६० लाखलाई लघुवित्तमा आवद्ध गरेको केन्द्रले जनाएको छ । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४३२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त बाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था क्रियाशील छन् ।
सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधिहरु, लघुवित्त गर्ने संस्थाका नेतृत्व, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि लगायत सरोकारवाला एकै थलोमा बसेर आ–आफ्ना भोगाइ, सिकाइ, अनुभव र ज्ञानहरुको आदान प्रदान र विचारहरुको मन्थन गर्न यस्तो सम्मेलन आयोजना गरिँदै आएको छ ।



