
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा ३ दशमलव १ प्रतिशतले व्यापार घाटा कम भएको जनाएको छ । बिहीवार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले आयात र निर्यात दुवैमा क्रमश ३ दशमलव ४ र ६ दशमलव १ प्रतिशतले घटेको उल्लेख गरेको छ ।
राष्ट्र बैंकले वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारिक मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको जनाएको छ । त्यस्तै पछिल्लो ५ महिनामा २७ दशमलव ६ प्रतिशतले विप्रेषण बढेको र नेपालको शोधनान्तर स्थिति २ खर्ब, १० अर्ब, ५९ करोडले वचतमा रहेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ खर्ब ६७ अर्ब विदेशी विनिमय संचिती रहेको र पछिल्लो ५ महिनामा सरकारले ४ खर्ब ५३ अर्ब खर्च गरेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दूगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहेको छ ।


