
बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका संशोधन गर्दै एक पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सक्ने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीले कुनै पब्लिक कम्पनीको ५ प्रतिशतसम्म सेयर किन्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । प्राधिकरणले पुनर्बीमा, निर्जीवन तथा जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका एकैसाथ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि बीमा कम्पनीहरुले साधारण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था रहेकोमा संशोधनमार्फत साधारण र संस्थापक सेयरमा लगानी गर्न पाउने भएका छन् । सबै बीमा कम्पनीले कुल लगानीमध्ये नेप्सेमा सूचीकृत पब्लिक लिमिटड कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था थियो ।
अब कुनै पनि पुनर्बीमा कम्पनी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीले कुनै पनि पब्लिक लिमिटेड कम्पनीको १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सक्ने भएका छन् । यसरी सेयर खरिद गर्दा कुल लगानीको १० प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था प्राधिकरणले गरेको छ ।
हिमालयन रि– इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको स्वामित्वको सेयर खरिद गर्ने सम्झौता गर्दै स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । साबिकको हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको थियो । सिभिल बैंकलाई गाभेपछि उक्त सेयर स्वामित्व १५ प्रतिशतभन्दा तल आएको छ । उक्त सेयर हिमालयन रि इन्स्योरेन्सले खरिद गर्ने सम्झौता गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकमा समेत पठाएको छ ।
‘विगतमा पनि कृषि तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयरमा लगानी गर्न समस्या भयो भन्दै बीमा कम्पनीहरुले लगानीको सीमा र दायरा बढाउनुपर्ने माग गर्दै आएका थिए । त्यतिबेला प्राधिकरणको प्राथमिकतामा यो विषय परेको थिएन,’ बीमा प्राधिकरण स्रोतले अनलाइनखबरसँग भन्यो । लामो समयपछि बीमा कम्पनीको लगानीसम्बन्धी निर्देशिकामा संशोधन भएको हो ।
सूचीकृत कम्पनीमा सञ्चालक प्रतिनिधित्व हुन १५ प्रतिशत सेयर चाहिन्छ । त्यसो हुँदा बीमा कम्पनीहरुले सञ्चालक प्रतिनिधित्व हुन नसक्ने गरी लगानी गर्नुपर्ने अवस्था रहेको भन्दै यो व्यवस्था संशोधनको माग गरेका थिए ।




