२०८० पुष १६ गते

नेशनल लघुवित्तद्वारा भूकम्प पीडितहरुलाई सहयोग

बैंकिङ खबर/ नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भूकम्पबाट पीडित सल्यान र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोगका साथै राहत सामग्री हस्तान्तरण गरेको छ ।

भूकम्प पीडितका लागि मानवीय सहायता अन्तर्गत पुस १४ गते सल्यानको दार्मा गाउँपालिकाका भुकम्प पीडितहरुका लागि सहयोगार्थ दार्मा गाउँपालिकालाई चार लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीलाई एक कार्यक्रम आयोजना गरी चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी,स्थानिय जनप्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,वित्तीय संस्थाका कर्मचारी,सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो ।

वित्तीय संस्थाले दार्मा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख जम्मा गर्नुका साथै संस्थाको बाघचौर शाखामा आवद्ध ६ सय ८१ जना सदस्यहरुलाई २१ लख ५४ हजार बराबरको राहत वितरण गरेको थियो ।

कार्यक्रममा उपस्थिति दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव, दार्मा गाउँपालिकामा उपस्थित भइ दार्मा गाउँपालिका राहतकोष र भुकम्प पीडित ६ सय ८१ घरपरिवारका सेवाग्राहीहरुलाई नगद सहयोग हस्तान्तरण गरेका थिए । दार्माका भूकम्प पीडितहरुलाई अमुल्य सहयोगका लागि प्रमुख कार्यकारी अधिकृत र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडप्रति विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।

त्यसैगरी नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले मानवीय सहायतामा सधैँ नेशनल लघुवित्तको साथ रहने कुराको उद्घोष गर्दै मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिकालाई धन्यवाद दिँदै आगामी दिनमा समेत नेशनल लघुवित्तको साथ रहने बताए ।

त्यसैगरी पुस १५ गते रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाका भूकम्प पीडितहरुका लागि सहयोगार्थ आठबिसकोट नगरपालिकालाई चार लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीलाई एक कार्यक्रम आयोजना गरी चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, वित्तीय संस्थाका कर्मचारी, सेवाग्राही सदस्य तथा आम जनसमुदायको उपस्थिति रहेको थियो ।

वित्तीय संस्थाले आठबिसकोट नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ४ लाख जम्मा गर्नुका साथै संस्थाको आठबिसकोट शाखामा आवद्ध ३७० जना सदस्यहरुलाई ११ लाख ६४ हजार बराबरको राहत वितरण गरेको थियो ।

त्यसैगरी रुकमपश्चिम जिल्लाको मसीकोट नगरपालिकाका सेवाग्राही २ सय ५० जना सदस्यलाई रु. लाख ५६ हजार नगद राहत वितरण गरिएको छ । कार्यक्रममा उपस्थिति आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव आठबिसकोटमा उपस्थित भइ नगरपालिकाको राहतकोष र भुकम्प पीडित ३७० घरपरिवारका सेवाग्राहीहरुलाई नगद सहयोग हस्तान्तरण गरेका थिए ।

आठविसकोटका नगर प्रमुखले आठबिसकोटका भुकम्प पीडितहरु गरेको सहयोगका नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड प्रति विशेष धन्यवाद ज्ञापन गरे ।

लघुवित्तले वित्तीय सेवाको पहुँच नपुगेका दुरदराजका दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको माध्यमबाट गरीवी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्य लिइ नेपाल भरी आफ्नो कारोवार विस्तार सँगै सेवाग्राही सदस्यहरुको दुःख सुखमा साथ दिँदै वित्तीय साक्षरता, सीपमूलक तालिम, सामाजिक क्रियाकलाप र दैवीप्रकोप उद्दार कार्यक्रम सञ्चालन गदै आएको छ ।

हाल नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड देशका ७२ जिल्लामा २०६ वटा शाखा कार्यालयहरुमार्फत २ लाख २० हजार सदस्यहरुबीच वित्तीय कारोवार सञ्चालन गरिरहेको वित्तीय संस्था हो ।

यसको शेयरपूँजी १ करोड ८ लाख बढी, सदस्यहरुको बचत रु.५ अर्ब बढी र सदस्यहरुका लागि लगानीमा रहिरहेको कर्जा १८ अर्ब बढी रहेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष र ग्राहक संरक्षण कोषबाट विपत्मा परेको सेवाग्राही सदस्यहरुलाई मानवीय सहायत गर्दै आएको छ ।