२०८० पुष १५ गते

साना किसान कृषि सहकारी त्रिभुवनवस्तीको २० औँ वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ खबर/कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनवस्तीको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित आयव्यय तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

सहकारीले आर्थिक वर्ष २०७९/८० मा ५ करोड ३४ लाख २१ हजार ३८ रुपैयाँ आम्दानी गरेको छ भने ४ करोड ४२ लाख ६९ हजार १ सय ३४ रुपैयाँ खर्च देखाउँदा सहकारीले ९१ लाख ५१ हजार ९ सय ४ रुपैयाँ खुद नाफा कमाएका प्रतिवेदन संस्थाकी अध्यक्ष दिना निरौलाले प्रस्तुत गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित आयतर्फ ६ करोड १४ लाख ६७ हजार, व्यय तर्फ ४ करोड ६७ लाख ६५ हजार र खुद नाफा तर्फ १ करोड ३८ लाख २ हजार रुपैयाँको लक्ष्यका साथ आफुहरुले काम गरिरहेको उनले बताए ।

त्यसैगरी सहकारीले आर्थिक वर्ष २०८०/८१ मा ६० वर्ष माथिका शेयर सदस्यहरुलाई तिर्थस्थलको भ्रमण गराउने र अन्तर समुह स्तरीय गोष्ठी, अनिवार्य पशु बिमा, सहकारी अभिमुखीकरण तालीम, वित्तिय साक्षरता तालीम, बेमौसमी तरकारी खेती र पशु संरक्षण तथा पशु स्वास्थ्य तालीम गर्ने योजना बनाएको छ ।

कार्यक्रममा उत्कृष्ट उद्योगी,ब्यवसायी,शेयर सदस्यहरुलाई सम्मान संगै एकजना शेयर सदस्यको छोरालाई संस्थाले जेटीए भेटनरी अध्ययन गराइरहेको छ । साधारण सभामा उत्कृष्ट राइस मिल उद्योग तर्फ शेयर सदस्य मिना कुमारी सिंह, गोमा दुलाल, देउमाया पौडेल, तालाबती पौडेल, माया देबि शर्मा, प्रभा बोगटी, नानिमाया भाँट, ईश्वरी रोकाया, मनसरा विष्ट र संगिता रायमाझी लाई सम्मान गरिएको थियो ।

यस्तै, कमला भण्डारी, शुशिला पण्डीत, राधादेबि सुबेदी, पबित्रा शाही, गिता घिमिरे, कमला पुजारा, तुली सुनार, गमना थापा व्यबसायिक केरा खेती गर्ने शेयर सदस्यका रुपमा सम्मानित हुनुभएको थियो । यस्तै पाउरोटीभट्टी, चिप्स नमकीन उद्योगी तर्फ सुनिता तामाङ, विधाता गिरी, ओम कुमारी आचार्य र दुनाटपरी उद्योगतर्फ सिता खनाल सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलि रहेको भन्दै प्रशंसा गरिन् ।

उनले सहकारी संचालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताइन् । उनले सहकारीमा आवद्ध भएर खाली बचत गर्ने र ऋण लिने नगरी भविष्यका लागि सोचेर केहि नयाँ कामको थालनी गर्नुपर्ने बताइन् ।

सहकारी किसानहरुको खेती जस्तो रहेको हुँदा आफ्नो खेतीको हेरचाह पनि आफैले गर्नुपर्ने भन्दै उनले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गरिन् ।