Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैंक घोटाला प्रकरणमा तत्कालीन प्रबन्धक कोइरालालाई ६ वर्ष कैद सजाय

२०८० पुष ११ गते

बैंकिङ खबर/भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ। विशेष अदालतले उनीविरुद्धको मुद्दामा ५४ लाख ८४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ।

न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यससघि कसुर ठहर गरेको मुद्दामा बुधबार सजाय तय गरेको हो। फैसलाअनुसार, कोइरालाले बिगो र जरिवानासहित एक करोड ४८ लाख रुपैयाँ तिर्नुपर्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबीअनुसार कोइरालाविरुद्ध बिगो र जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

विशेष अदालतले कोइरालालाई गत मंसिर २१ मा भ्रष्टाचारी ठहर गरेको थियो। बुधबार सजाय निर्धारणका लागि सुनुवाइ भएको थियो। कोइरालालाई बैंकको सिस्टम ह्याकिङ र जम्मा गर्नुपर्ने ब्याज व्यक्तिगत खातामा राखेर भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो। कोइरालाविरुद्ध भ्रष्टाचार आरोपमा २०७७ असार ३१ गते मुद्दा दायर भएको थियो।

कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत अरुले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर दुरुपयोग गरेका थिए। त्यसक्रममा उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न व्यक्तिगत खातामा जम्मा गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको अनुसन्धानबाट भएको थियो।