Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले नीतिगत दर घटायो, बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन

२०८० मंसिर २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ। केन्द्रीय बैंकले बैंक दर ०.५ प्रतिशत विन्दुले घटाएको छ भने नीतिगत दर १ प्रतिशत विन्दुले घटाएको छ।

“विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ,” केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ।

अहिले बाह्य अवस्था सुधार हुँदै गइरहेको र बैंकहरुमा पनि अधिक तरलता थुप्रिएर अन्तरबैंक ब्याजदर घट्दै गएको अवस्थामा केन्द्रीय बैंकले दरहरु घटाएको हो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष कर्जा लगानी केहि बढेको भए पनि निक्षेप संकलनको तुलनामा कर्जा विस्तार न्युन छ।

बैंकहरुमा अधिक तरलता रहेको अवस्थामा केन्द्रीय बैंकले नीतिगत ब्याजदर घटाउदा यसले बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन हुनेछ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ।