Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

समयमै बिमा क्षतिको प्रतिवेदन तयार गर्न प्राधिकरणको निर्देशन

२०८० मंसिर १८ गते

बैंकिङ खबर/ नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनी र बिमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढंगले काम गर्नुपर्ने बताएका छन्। नेपाल बिमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित नेपाल बिमक संघ र नेपाल बिमा सर्भेयर संघसँगको अन्तर्क्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘बिमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँट हुनुपर्छ, दुवै संघले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा सर्भेयरको फी तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बिमकहरूले बुझ्नुपर्छ,’ उनले भने, ‘दुवै संघका पदाधिकारीहरूले नयाँ काम गर्नुपर्‍यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्‍यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्‍यो, कुन बिमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिनुपर्‍यो, बिमक र सर्भेयरको कारणले दाबी फर्स्योटमा ढिलाइ भयो भन्ने गुनासा आउनुभएन।’

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बिमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फी भुक्तानी गर्नुपर्ने बताए।
प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बिमितको हकहित सुरक्षित हुने गरी बिमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरे। यसैगरी, प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा सर्भेयरको संख्या भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बिमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बिमा सर्भेयर र बिमकसँग सम्बन्धित समस्या र समाधानसम्बन्धी प्रस्तुति गरेका थिए। यसैगरी, नेपाल बिमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बिमा सर्भेयरसँग देखिएका समस्या र समाधानका उपाय तथा नेपाल बिमा सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालले बिमा सर्भेयर र बिमकबीचको सम्बन्ध, सर्भेयर फी तथा नेपाल बिमा प्राधिकरणसँगको अपेक्षासम्बन्धी प्रस्तुति गरेका थिए।

नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले सञ्चालन गरेका कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) र पुनर्बिमा कम्पनी तथा निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।