
बैंकिङ खबर/ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा रहेको र ब्याजदर अझै घट्दै जाने बताए । अहिले बैंकमा तरलता बढेको उनले बताए ।
तरलता ५ खर्बभन्दा बढी भएपछि नेपाल राष्ट्र बैंकले एक साताको अवधिमा ३५ अर्ब निक्षेप उठाइसकेको छ । बैंकहरुले ०.९९ प्रतिशतसम्म ब्याजदरमा राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गरेका छन् ।
खराब कर्जा बढ्दो दरमा रहेकाले बैंकहरुले त्यसमा ध्यान दिन आवश्यक रहेको उनले बताए । सडकबाट बैंकविरुद्ध हुने आन्दोलनका कारण सचेत हुनु जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ ।
बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको तथ्य उनले पेस गरे । देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले कन्ट्री रेटिङ गर्न र हेजिङलाई सहज बनाउन सरकारसँग आग्रह गरे ।



