
बैंकिङ खबर/अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । डलरको भाउले एकपछि अर्को गर्दै नयाँ नयाँ उचाईको रेकर्ड बनाइरहेको हो ।
नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको थियो ।
डलरको भाउले आइतबार नोभेम्बर २३ को रेकर्डलाई समेत ब्रेक गरी नयाँ उचाई बनाएको हो । आइतबारका लागि राष्टबैंकले अमेरिकी डलरको खरीद दर रु.१३३.१ तथा बिक्रीदर १३३.७ रुपैयाँ तोकेको छ ।
अमेरिकी डलरसँगै यूरोपियन यूरो, यूके पाउण्ड स्टर्लिङ, अस्टेयिन, सिंगापुर, क्यानेडियन डलरको भाउ समेत सर्वाधिक महंगो भएको छ । अमेरिकी र अन्य मुख्य मुद्रासँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठूलो सकस हुन्छ । तर, नेपाल भित्रिने रेमिटान्समा भने निकै ठूलो टेवा पुग्छ ।
सरकारले अन्तराष्ट्रिय निकाय तथा नियोगहरुबाट लिने ऋण अमेरिकी लगायत विभिन्न डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महङ्गिँदा त्यस्तो लागत बढ्न जान्छ ।
विभिन्न देशबाट विभिन्न सामान आयात गर्दा डलर नै चाहिने भएकोले त्यस्तो आयात महङ्गो पर्न जान्छ । जसका कारण नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र सकसमा पर्नसक्छ ।
तर, नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिटान्स पनि भएकोले त्यसमा पनि टेवा पुग्नेछ । विभिन्न देशमा काम गर्ने नेपाली कामदारहरुले डलरमै भुक्तानी पाउने भएकोले उनीहरुले नेपाल पैसा पठाउँदा त्यो बढ्न पुग्छ ।




