Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तविरुद्धका आन्दोलनकारी भन्छन्,‘दुर्गा प्रसाईंले द्वैद चरित्र देखाए’

२०८० मंसिर ५ गते

बैंकिङ खबर/‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’का अध्यक्ष मनिराम ज्ञावालीले अभियन्ता दुर्गा प्रसाईं राजसंस्थाको मुद्दा त्याग्न तयार भए आफूहरु उनीसँग सहकार्य गर्ने बताएका छन् । मंगलबार संवाद डबलीमा संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष ज्ञावालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईंबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवा गरे ।

अध्यक्ष ज्ञावालीले २०४२ सालमा राजतन्त्रले खुल्ला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा अर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन् बिग्रने जिकिर गरे । बैंक, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईंको द्वैद चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ । आफूहरुले प्रसाईंले उठाएका राजन्त्र बाहेकको वित्तीय अराजकता विरोधीे मुद्दालाई समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताए ।

उनले भने, ‘दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्दा त्यागेर आउनुस् । भोलिबाटै हामी हातेमालो गर्न तयार छौं, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।’ अहिलेको गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञावालीले भने,‘राजन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यहि आन्दोनलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विस्वस्थ छौं ।’

सो संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरुको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरे । आफूहरुले २२ महिनादेखि आन्दोलन गर्दै आएको मुद्दा उठाएर प्रसाईंले संघर्षलाई डाइभर्ट गर्न लागेको आरोप लगाउँदै उनले भने,‘ठूलो त्याग गरेर सामन्ती राजतन्त्र फल्यौं पुनः त्यसैको पुनस्र्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितण्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन ।’

संघर्ष समिति सुदुरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईंले आफूहरुको र दूर्गा प्रसाईंको आन्दोलन्मा आकास–पातालको अन्तर रहेको धारणा राखे । चौलागार्इंले सरकारले वित्तीय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए ।

कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तीय संस्थाहरुको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटोभन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।
समितिका विदेश विभाग प्रमुख गगन बहादुर वि.कले देशमा लघुवित्तहरुको ज्यादतिको कारण हजारौं दिदी–बहिनीहरु विदेश गएर झन दुःख पाइरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए ।
केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।