Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थतन्त्र थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने

२०८० मंसिर ४ गते

बैंकिङ खबर/ मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए । 

यही विषयमा मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताए । अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको उनकाे भनाइ छ ।

रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको अर्थमन्त्री डा महतले बताउनुभयो । त्यस्तै सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो । बैंक तथा वित्तीय संस्थाको ऋण उठाउने प्रक्रिया विषय कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा छलफल भएको मन्त्री डा महतले बताए ।

बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषय र जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाएको छ । आजको बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।