
बैंकिङ खबर/निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०—८१ को पहिलो त्रैमासमा १० अर्ब ४४ करोड ५५ लाख ४९ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले थोरै हो ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८१ हजार ४६४ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।
गत आव २०७९—८० को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क ३९ करोड ६९ लाख ४ हजार रुपैयाँले घटेको हो । मर्जरका कारण पछिल्ला एक वर्षमा ६ वटा निर्जीवन बीमा कम्पनी घटेका छन् ।
प्राधिकरणका अनुसार चालु आवको असोज महीनामा मात्रै कम्पनीहरुले २ लाख ७२ हजार ४९१ वटा बीमालेख ३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ९ खर्ब २९ अर्ब ६९ करोड ७ लाख ६२ हजार रुपैयाँ बीमाङ्क बराबरका बीमालेख बिक्री गरेका छन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा मसान्तसम्ममा चौध कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो ठूलो बीमाशुल्क उठाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड ५५ लाख ४७ हजार रुपैयाँ संकलन गर्दा तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले असोजसम्म कुल १ अर्ब ४ करोड १२ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले असोजसम्म ९४ करोड ८३ लाख ११ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख ८५ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख ९५ हजार रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख ३६ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड ५५ लाख ३३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
यसैगरी चालु आवका तीन महिना अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ९४ लाख ६३ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख ७५ हजार रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख ६७ हजार रुपैयाँ र दी ओरियन्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख १३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख २१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।




