
बैंकिङ खबर/घरजग्गा कारोबारमा क्रमिक सुधारको सङ्केत देखिन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले अघिल्लो वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार पाँच गुणा भन्दा धेरैले बढेको देखाएको हो ।
पछिल्लो तीन महिना अर्थात् साउन, भदौ र असोजको कारोबारसम्बन्धी विभागको तथ्याङ्क हेर्दा क्रमिक रूपमा बढ्न थालेको पाइएको छ । गत साउनमा २९१ कित्ताबाट ७७ हजार ६८ कित्ताकाट भएको थियो । भदौमा ३६ हजार २८० कित्ताबाट ८० हजार ३१७ कित्ताकाट भएको थियो । भने असोजमा ४७ हजार ३९८ कित्ताबाट एक लाख ६ हजार ३४९ कित्ताकाट भएको विभागको तथ्याङ्क छ ।
कित्ताकाटमा वृद्धि भएसँगै घरजग्गा कारोबारबाट राज्यले सङ्कलन गर्ने राजस्व पनि बढेको छ । गत साउनमा ३ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको सरकारले भदौमा झन्डै ३ अर्ब ३७ करोड र असोज महिनामा ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।


