
बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री महतले हालको १२ करोडको सीमालाई बढाएर १८–२० करोड बनाउँदा कुनै फरक नपर्ने बताए ।
अहिले घरजग्गा र सेयर बजारमा ओभर हिटिङ भएको, चाँडो फाइदा लिन म्यानुपुलेसन भएको र जग्गाको मूल्य अस्वाभाविक वृद्धि भएको पनि उनले बताए । जग्गाको कित्ताकाट खुल्दा बजार चलायमान हुने उनको दाबी छ । सेयर बजार र जग्गामा भएको लगानीलाई अनुत्पादक भनिहाल्न नहुने मन्त्री महतको तर्क छ ।
स्रोत हुँदा पनि लगानी हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । मन्त्री महतले विगतमा ब्याजदर घटेका बेला विचार गरेर लगानी नगरेका कारण अहिलेको परिस्थिति आएको बताए । त्यसकारण पनि यसअघि भएको लगानीअनुसार प्रतिफल प्राप्त नभएको उनको तर्क छ ।



