Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

२०८० भाद्र २२ गते

बैंकिङ खबर/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ । यसअघि भदौ १ गते डलरको मूल्य सर्वाधिक १३३ रुपैयाँ ३४ पैसा थियो । खरिद दर भने १३२ रुपैयाँ ८४ पैसा छ ।

भदौ १ पछि ६ गतेसम्म लगातार डलर १३३ रुपैयाँमाथि रह्यो । भदौ ७ गते भदौ १९ सम्म १३३ रुपैयाँभन्दा तल रहेको डलरको मूल्य भदौ २० गते १३३ रुपैयाँ १७ पैसा पुगेको थियो । भदौ २१ गते १३३ रुपैयाँ ३२ पैसा कायम भएको डलर शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ सस्तिएको हो । आज एक डलर बराबर ८३.१३ भारतीय रुपैयाँ कायम भएको छ । अहिले भारतीय केन्द्रीय बैंक मूल्यवृद्धि बढ्ने प्रक्षेपण गरिरहेको छ । भारतमा आयात पनि बढेको छ । आयात बढ्दा विदेशी मुद्रा सञ्चिति घट्छ । परिणामतः डलरको माग बढेर भारु कमजोर भएको हो । नेपाली र भारतीय मुद्राबीच स्थिर विनियम दर छ ।

डलरको मूल्य बढ्दा सामान आयात गर्न महँगो पर्ने हुन्छ । निर्यात उच्च दरमा बढाउन सक्ने हो भने डलरको मूल्य बढ्दा फाइदा हुन्छ । तर, उत्पादन बढ्न नसक्दा आयातमा चाप बढ्दो छ ।

आर्थिक वर्ष २०७९÷८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात भएको छ भने १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । निर्यात कमजोर भएका कारण डलरको मूल्य बढ्दा नेपाललाई बढी नोक्सानी हुन्छ ।