बैंकिङ खबर/कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापनमा एक दर्जनभन्दा बढी संशोधन गरेको छ । कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी प्रावधानहरुमा संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।
१० भदौमा बसेको कम्पनीको बैठकले कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी यस्तो संशोधन गरेको हो । नयाँ व्यवस्थाअनुसार अब सेयरधनीले कम्पनीलाई सेयर बापतको चुक्ता रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्छ ।
प्राकृतिक व्यक्तिले १० लाख रुपैयाँभन्दा कम मूल्यको सेयर खरीद बिक्री गर्दा नगदै कारोबार गर्न सकिने छ भने बैंक स्टेटमेन्ट नभएको खण्डमा पनि अभिलेख स्वीकार गर्न सकिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार १८ भदौ २०८० पछि स्थापना भएका कम्पनीहरुले प्रथम वार्षिक साधारण सभा गर्नुअगाडि नै अनिवार्य रुपमा सेयर बाँडफाँट गरी कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रुपम चुक्ता गरी सेयर लगत अभिलेख गराउनुपर्ने व्यवस्था गरिएको छ । यसरी सेयर लगत प्रमाणित गरेर लगेपछि मात्र कम्पनीको अध्यावधिक लगायतका काम कारबाही गर्न पाइने व्यवस्था गरिएको छ ।
२०७३-७४ को भन्दापछिको लेखा परीक्षण प्रतिवेदनमा चुक्ता पूँजी उल्लेख भएको तर सेयर लगत नभएको कम्पनीमा सो पूँजीबजारको प्रमाण पेश गरी सेयर लगत अभिलेख गरेर मात्रै अब कम्पनीको अन्य कागजातको अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ ।
कम्पनीको सेयरबापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्दा सेयर कल गरेको मितिदेखि सेयर बाँडफाँट गरेको मितिभित्र गर्नुपर्ने प्रावधान रहेको र सोही अवधिको बैंक स्टेटमेन्ट मात्र चुत्ता प्रमाणका लागि ग्राह्य हुने रजिष्ट्रार कार्यालयले जनाएको छ ।
अबदेखि कम्पनी स्थापना गर्दा सेयरधनीले आफूले कवुल गरेको सेयर वा जगेडा सेयर खरिद वापतको रकम चुक्ता गर्दा वा सेयर खरिद गर्दा बिक्रीको कारोबारमा बिक्रेतालाई सेयर रकम भुक्तानी गर्दा कार्यालयमा पेश गर्ने बैंक स्टेटमेन्टमा सम्बन्धित बैंकको छापसहितको प्रमाणित भएको स्टेटमेन्ट पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाता प्रमणितबाट खुल्ने परिवारको सदस्यहरुको बीच भएको खरिद बिक्रीको हकमा सम्बन्धित बैंकमबाट सिस्टम जेनेरेटेड चुक्ता प्रमाणलाई पनि अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ ।




