
बैंकिङ खबर/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गाडी किन्नका लागि बैंकबाट ऋण लिने व्यवस्था सहज बनाउन सरकारसँग माग गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी यस्तो माग गरेको हो ।
अटोमोबाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गर्न आयोजित छलफलमा नाडाका अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नका लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग गरे ।
उनले बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा ऋण प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि पनि अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।


