
बैंकिङ खबर/चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक हेर्दा गत आवमा सो बराबर चालु खातामा घाटामा रहेको देखिएको हो ।
अघिल्लो वर्ष चालु खाता रु. ६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।
गत वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ५६ करोड रहेको थियो ।
तथ्यांक अनुसार गत वर्षमा शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ ।



