
बैंकिङ खबर/काठमाडौंमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौंमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।
आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए ।
‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ’, उनले भने । आव २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैंकिङ कसुरका मात्र सात हजार १०१, अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी छ सय ४७, ठगीका चार सय १४, लागुऔषधका तीन सय ६८, आत्माहत्यासम्बन्धी तीन सय ५७ मुद्दा रहेका छन् ।



