
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले प्रोत्साहनको नीति अबलम्बन गर्दै लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने तयारी गरेको हो । लघुवित्त संस्थाको संख्या धेरै भएको भन्दै केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनमा प्रोत्साहनको नीति लिन लागेको हो।
राष्ट्र बैंकले क्रस होल्डिङ ५१-४९ नपुगेका लघुवित्तलाई फोर्स मर्जमा जान दबाब दिन नसक्दा प्रोत्साहनको नीति लिएकोे हो । आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म कुल ६३ लघुवित्त संस्था छन्। २०७८ जेठ मसान्तमा ७० थिए। यसअघि राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जाने लघुवित्तलाई सुविधा र छुट नीति दिँदा ७० बाट ५७ मा झरेका छन्। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार असार मसान्तसम्म् लघुवित्त ५७ मा सीमित भएका छन्।
उनका अनुसार मर्जमा जान लघुवित्तलाई केही सहुलियत र छुट व्यवस्था लागु गरिएको थियो। जसले यही असार (एक महिना) मा एक दर्जन लघुवित्त मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन्। राष्ट्र बैंकको अपेक्षाअनुसार लघुवित्त मर्जर तथा एक्विजिसनमा नगएको पोखरेलले बताए । क्रस होल्डिङ ५१-४९ नपुगेका लघुवित्तलाई फोर्स मर्जमा जान दबाब दिन भने नसकिने उनले बताए। उनका अनुसार अब राष्ट्रियस्तरमा काम गरिरहेका लघुवित्तलाई क्षेत्रीयकरण गर्ने नीति अबलम्बन गरिनेछ।


