
बैंकिङ खबर/ गत आर्थिक वर्ष देशभर घरजग्गा कारोबार तथा राजस्व संकलनमा कमी आएको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा देशभरिमा कुल चार लाख ३३ हजार ७७४ वटा घरजग्गा किनबेच भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७२ प्रतिशत थोरै हो। आर्थिक वर्ष २०७८÷७९ मा सात लाख ४५ हजार ११९ वटा घरजग्गा किनबेच भएको थियो।
वर्षको शुरूआतका महीनामा ब्यांक तथा वित्तीय संस्थामा तरलताको समस्या, उच्च ब्याज वृद्धि तथा अन्य नीतिगत प्रावधानका कारण गत वर्ष घरजग्गा कारोबारका क्षेत्रमा शिथिलता देखिएको हो। गत वर्ष कारोबार घट्दा राजस्व संकलन पनि प्रभावित भएको छ। विभागका अनुसार गत वर्ष घरजग्गा कारोबारबाट ४१ अर्ब ७३ करोड राजस्व उठेको छ। जुन यसभन्दा अघिल्लो आर्थिक वर्षमा ७५ अर्ब ५५ करोड राजस्व सङ्कलन भएको थियो। घरजग्गा क्षेत्रको राजस्व घट्दा सरकारलाई ठूलो धक्का लागेको छ।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थपिंदै जाँदा र ब्याजदर क्रमशः घटेका कारण पछिल्ला महीनामा घरजग्गाको क्षेत्रमा क्रमशः सुधार आउन थालेको देखिएको थियो। गत जेठ महीनामा ५५ हजार घरजग्गा किनबेच भएपछि घरजग्गा क्षेत्र लयमा फर्किन थालेको अनुमान गरिएको थियो। तर, असारमा फेरि कारोबार संख्या घटेको छ। असारमा जम्मा ४८ हजार ७७१ वटा मात्रै घरजग्गा किनबेच भएको छ।
यो वर्ष हरेक दिन औसतमा एक हजार १८८ वटा घरजग्गाको कारोबार भयो। गत वर्ष भने औसतमा हरेक दिन सरदरमा दुई हजार ४१ वटा घरजग्गा किनबेच भएको थियो।



