
बैंकिङ खबर/ कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा चालु आवको जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६३ करोड पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।




