
बैंकिङ खबर/पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणामा बैंकको ब्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वबैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको ब्याजदरमा एकरुपता ल्याउने अभ्यास गर्न नहुने बताए ।
विगतदेखि भइरहेको अभ्यासले प्रतिस्पर्धी बजारको विकास हुन नसकेको बताएका उनले यस सम्बन्धमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको बताए ।
परिस्थिति असहज भएका बेला बैंकहरुले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भए पनि अहिले स्थिति सहज भएको भन्दै क्षेत्रीले ब्याजदर निर्धारणको जिम्मा बैंकहरु स्वयंलाई दिनुपर्नेमा जोड दिए ।




