
बैंकिङ खबर/नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । सीएनआईका पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्दै उक्त सुझाव दिएका हुन् ।
छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिए । यतिबेला समग्र वस्तु मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको उनले बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना स्थगित हुने गरेको अहिले भने तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानका कारण बाधा उत्पन्न भएको अग्रवालले बताए ।
लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा रकम कम्तिमा १२ प्रतिशतले बढाउनुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ छ । सो अवसरमा गभर्नर अधिकारीले परिसंघका सुझावलाई अध्ययन गरेर आवश्यकताका आधारमा मौद्रिक नीतिमा समेटिने बताए । मूल्य वृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजग भइरहनुपर्ने गभर्नर अधिकारीले बताए ।


