Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शिव शिखरका केदारनाथ शर्माको वित्तीय अपराध : डरलाग्दो पिक्चर

२०८० असार १४ गते

बैंकिङ खबर/ पछिल्लो समय एकपछि अर्काे सहकारीहरुमा समस्या देखिन थालेको छ । अझ ठूला भनिएका सहकारीहरु नै कर्मचारी एवम् सञ्चालक समितिका कारण डूबेका छन् ।
ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘गाउँ-गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरु आज सर्वसाधारणको विश्वास गुमाउँदै गएका छन् । देशका ठूला भनिएका सहकारीहरुनै समस्याग्रस्त अवस्थामा पुगेका छन् ।

त्यसैमध्येको एक सहकारी हो शिवशिखर सहकारी । सञ्चालकको बदमासीले गर्दा आज यो सहकारी चुर्लुम्ब डुबेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष एवम् मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।

सिआइवीले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका शर्मालाई पक्राउ गरेको छ । उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी सिआइबीले सार्वजनिक गर्दै कानूनी कारबाही अघि बढेको जानकारी गराएको छ । उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ ।

यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले रु एक अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ ।

उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पु¥याएको पाइएको सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

जनताको पैसामा खेलवाड

सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरी रकम बचत गरेका हुन्छन् । त्यही रकममा सञ्चालकले हालिमुहाली गर्ने गरेका छन् । यस्तै शिव शिखर सहकारीले पनि जनताको पैसामाथि खेलवाड गरेको छ । सञ्चालक शर्माले भक्तपुरको सल्लाघारीमा शिवशिखर कृषि सहकारी र कौशलटारमा शिखरदीप बहुउद्देश्यीय सहकारी दुवै चलाउँदै आएका थिए ।

यी दुई सहकारीलाई २०७७ सालमा मर्ज गरेर उनले शिवशिखर बहुउद्देश्यीय सहकारी बनाएका थिए । यो सहकारीबाट सर्वसाधारणको अर्बौं निक्षेप उनले दुरुपयोग गरिरहेका थिए । शर्माले सुशील बानियाँलाई अध्यक्ष बनाएका थिए । त्यससँगै उनले विराटनगरमा केन्द्रीय कार्यालय राखेर तुलसी बचत तथा ऋण सहकारी खोले र त्यसको अध्यक्ष बने । त्यस सहकारीमा पनि निक्षेपकर्ताको १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ भन्दा बढी निक्षेप दायित्व छ । त्यो सहकारी पनि बन्द छ ।

दुई वटा सहकारीको पैसा अपचलन गरेका उनीसहितका सञ्चालकलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको थियो । विभागले गरेको पत्राचारको आधारमा शिवशिखर सहकारीका ९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गीता शर्मा र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गीता शर्मा केदारनाथ शर्माकी श्रीमती हुन् । पक्राउ परेका सञ्चालकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् ।

देशका विभिन्न स्थानमा १८ वटा मार्ट सञ्चालन गरेको शिवशिखर सहकारीको करिब ३ अर्ब कर्जा लगानीको सहकारी विभागले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको भक्तपुरका शाखाका १ हजार २ सय ९२ जना निक्षेपकर्ताले शिव शिखरविरुद्ध उजुरी दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक अधिकारीका अनुसार भक्तपुरका निक्षेपकर्ताले ६६ करोड ३१ लाख रुपैयाँ बिगो दाबीसहित उजुरी दिएका थिए । शिवशिखर सहकारीको कीर्तिपुर शाखामा ५ हजार दुई सयजनाभन्दा बढी बचतकर्ता छन् । अहिले शिवशिखर सहकारीमा निक्षेप जम्मा गरेका देशभरका निक्षेपकर्ताहरु आफू नजिकको कार्यालयमा पुगेर पैसा फिर्ता मागिरहेका छन् ।

छिटो मालिक बन्ने सपना

छिट्टै मालिक बन्ने सपनासहित उनले सहकारीका निक्षेपकर्ता सहित विभिन्न व्यक्तिको रकम अपचलन गरेका छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाबाट बचत उठाएर शर्माले ४३ वटा कम्पनीमा लगानी समेत गरेका छन् ।

सीआईबी का अनुसार यी ४३ वटा कम्पनीमा शर्मा अध्यक्ष भएकै सहकारीबाट ऋण लिएर नतिर्नुका साथै ती कम्पनीको प्रमुख लगानीकर्ताका रूपमा शर्मा नै छन् । शिवशिखर र तुलसी बहुमुखी सहकारीसहकारीबाट बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । यी दुई सहकारीले बचतकर्ताको बचत फिर्ता नगरी प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू, आफन्त र नजिकका नाताको नाममा घरजग्गा र गाडी खरिद गरेको पाइएको सीआईबीले जनाएको छ ।

कहाँ छ लगानी ?

 

कर्तुत लुकाउन टेलिभिजनको सहायता

कर्तुत लुकाउन र आफ्नो पहुँच विस्तारका लागि शर्माले अर्थ न्युज एचडी टेलिभिजन समेत सञ्चालन गरेका थिए । उनी आफ्नो कर्तुत लुकाउन मिडियाको सहारा लिँदै आएका थिए । तर अहिले सञ्चालक शर्मा पक्राउ परेसँगै काठमाडौंबाट प्रशारण हुँदै आएको अर्थन्युज एचडी टेलिभिजन बन्द भएको छ । टेलिभिजन बन्द भएसँगै पत्रकार, कर्मचारी र प्राविधिक गरी करिब एक सय जनाले रोजगारी गुमाएका छन् । गत शुक्रबारबाट टेलिभिजन बन्द भएको हो ।

टेलिभिजन केबल, फेसबुक, युट्युब कतै पनि प्रशारण भएको छैन । टेलिभिजनमा कार्यरत पत्रकार कर्मचारीले करिब चार महिनादेखि पारिश्रमिक समेत नपाएको बताइएको छ । चार महिनादेखि तलब समेत नपाएका पत्रकार कर्मचारीको रोजगारी समेत गुम्दा झन समस्यामा परेका छन् ।

स्थापानको छोटो समयमै विदेशी संस्थासँग नाम जुधेको भन्दै वान न्युज एचडीबाट अर्थ न्युज एचडीमा परिवर्तन भएको थियो । ३७ वटा कम्पनी चलाइरहेका केदारनाथ शर्माले ३८ औँ कम्पनीको रूपमा अर्थ न्युज एचडी सञ्चालनमा ल्याएका थिए ।