Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘लघुवित्तविरुद्ध अराजक गतिविधि नरोकिए सेवा बन्द गर्छौं’

२०८० असार ११ गते

बैंकिङ खबर/ नेपाल लघुवित्त बैकर्स संघ (एनएमबीए) ले लघुवित्त वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि नरोकिए आफ्नो सम्पूर्ण सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ । लघुवित्त बैकर्स संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले पछिल्लो समय लघुवित्त संस्था र लघुवित्तकर्मीहरु असुरक्षित रहेको बताए ।

नेपालको कानून अनुसार दर्ता भएका संस्थाहरु माथि अस्वभाविक माग राखेर धम्माउने गरिएको उनको भनाइ छ । लघुवित्तका विरुद्ध पछिल्लो समय संघर्षको कार्यक्रम नै घोषणा गरेर आन्दोलन हुने गरेको छ । लघुवित्त संस्था खारेजी हुनुपर्ने, शून्य ब्याजदरमा ऋण उपलब्ध हुनुपर्ने, ऋण मिनाहा हुनुपर्ने लगायतका अस्वभाविक मागहरु राखिएको भन्दै उनले यस्ता मागको अर्थ नै नरहेको बताए ।

बाहिर आएका नकारात्मक गतिविधिमा नियामक निकायले पनि चासो नदिएको उनले बताए । अवैधानिक गतिविधिहरुलाई निरुत्साहित गर्न राष्ट्र बैंक लगायतका नियामक संस्थाले आवश्यक निर्णय लिनुपर्ने निवर्तमान अध्यक्ष लम्सालको भनाइ छ ।

संघका महासचिव रामबहादुर यादवले लघुवित्त भइरहेको प्रहार नरोकिए कडा कदम चाल्ने बताए । उनले भने, ‘सरकारी निकाय मूकदर्शक भएर बसेको छ। लघुवित्तविरुद्ध अराजक गतिविधि संचालन भइरहेका छन्। कर्जा तिर्छु भनेर आउनेलाई पनि ऋण मिनाहा हुन्छ भनेर दुष्प्रचार भइरहेको छ । यही अवस्था रह्यो भने हामीले हाम्रो सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुग्छौं ।’

महासचिव यादवले ऋण नतिर्ने आन्दोलनमा लागेका ५,७ सयका कारण ६० लाख सदस्यको २१२ अर्ब रुपैयाँ र बैंकहरुको २२६ अर्ब रुपैयाँ पनि जोखिममा परेको बताए। यो आन्दोलनका कारण पछिल्लो समय ऋण नतिर्नेको संख्या ६ लाख नाघेकाले अब लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा परिचालन र कर्जा असुली चिन्ताजनक अवस्थामा पुगेकाले आन्दोलनको विकल्प नरहेको उनले बताए।

७७ जिल्लाका सिडिओ र प्रचण्डलाई एकैपटक ज्ञापनपत्र

लघुवित्तविरोधी आन्दोलनले पारेको प्रभावबारे नेपाल सरकारलाई जानकारी गराउन लघुवित्तहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देशभरिका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएका छन् । ऋण नतिर्ने आन्दोलनमा लागेकाहरुले कार्यालय पुगेर लघुवित्तका कर्मचारीमाथि हातपात गर्ने क्रियाकलाप बढेको छ । त्यसैले शान्ति सुरक्षाको माग गर्दै सोमबार देशका ७७ जिल्लाका सिडियो र प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सोमबार देशैभरका सिडियो र प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदा पनि समाधान ननिस्किए ६० लाख सदस्यलाई सडकमा उतारेर लघुवित्तको शक्ति प्रदर्शन गर्ने यादवले चेतावनी दिए। हाल सञ्चालनमा रहेका ६२ लघुवित्तमा करिब ६० लाख ८८ हजार सदस्य छन्। यीमध्ये ऋणीको संख्या ३२ लाख ६० हजार छन्। पछिल्लो समय ३२ लाख ६० हजार ऋणीमध्ये कर्जा नतिरेर भाखा नाघेको संख्या ६ लाख ४१ हजार पुगेको लघुवित्त बैंकर्स संघले जनाएको छ ।

६२ वटा लघुवित्तले अहिलेसम्म ४ खर्ब ५१ अर्ब लगानी गरेका छन् । जसमध्ये २१२ अर्ब रुपैयाँ लघुवित्तमा आवद्ध सदस्यहरुको निक्षेपको पैसा हो भने २२६ अर्ब रुपैयाँ लघुवित्तहरुले बैंकहरुबाट कर्जा सापटी लिएको पैसा हो ।