
बैंकिङ खबर/ काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३५ जना ग्राहक सदस्यहरुलाई व्यवसायिक गाई,भैंसीपालन तालिम दिएको छ ।
पर्सा जिल्लाको विरगंजमा उक्त तालिम सम्पन्न भएको संस्थाका वीरगंज शाखा कार्यालयका शाखा प्रमुख एक नारायण शर्माले जानकारी दिए । यस तालिमको प्रशिक्षकमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालयका प्रमुख डा. राज कुमार साह, भेटनरी अधिकृत सत्य नारायण मण्डल, तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रिय कार्यालय बिरगंजका क्षेत्रिय प्रबन्धक राधेश्याम सहनी साथै शाखा प्रबन्धक एक नारायण शर्मा रहेका थिए ।
तालिम शुरु हुनुपूर्व उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा उपस्थित वीरगंज महानगर पालिका वडा नं. ७ का अध्यक्ष हिरा काजी महर्जनले उद्घाटन गरेका थिए ।
मन्तब्य राख्ने क्रममा अध्यक्ष महर्जनले लघुवित्तबाट सहज रुपमा उपलब्ध भएको कर्जालाई सही परियोजनामा लगानी गरे समस्या नहुने हुँदा कर्जाको सही सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गरे ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरीरहेको, संस्थाले तीन दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेकोसँगै तालिमको उद्देश्य बारेमा समेत संस्थाका क्षेत्रिय प्रबन्धक राधेश्याम सहनीले जानकारी गराएका थिए ।
तालिममा सहभागीहरु लाई स्वागत गर्नुका साथै तालिमको महत्व बारेमा संस्थाको वीरगंज शाखा कार्यालयका कर्मचारी ऋषी आर्चायले प्रकाश पारेका थिए ।
तालिममा नेपालमा पशुपालनको ऐतिहासिक महत्व, नेपालमा हावापानी सुहाउँदो विभिन्न उन्नत (नश्ल) तथा लोकल (काठे) पशुहरुको पहिचान (फरक) गर्ने गरिका, तिनिहरुको स्याहार सुशारमा ध्यान दिनुपर्ने कुराहरु, परम्परागत तरिकाको पशुपालन तथा व्यवसायिक पशुपालनबाट हुने फाइदा त्यसले किसानको आर्थिक अवस्थामा ल्याउने सुधार, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, पशु तथा गोठको सरसफाईको आवश्यकता र महत्व, रोगी निरोगी पशु पहिचान गर्ने तरिकाहरु, पशुपालनमा लाग्ने रोगहरु (रिपिट ब्रिडर्स, गर्भपतन, डिसटोकिया, प्रोल्याप्स), तीनको रोकथानका उपायहरु, दुध उत्पादनमा गाइभैँसीको योगदान लगायतका विषयमा
तालिममा सहभागीहरुले जानकारी हासिल गरेका वीरगंज शाखाका शाखा प्रबन्धक एक नारायण शर्माले बताए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८५ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९५ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइ रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आइरहेको छ ।
यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आइरहेको छ ।
संस्थाले २०८० वैशाख मसान्तसम्ममा ४ लाख ४ हजार १०५ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०८० वैशाख मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु. २६ अरब ८७ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १८ अरब ८५ करोड बचत परिचालन गरेको छ ।
भैंसीपालन गरीरहेका र गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका वीरगंज शाखाका शाखा प्रबन्धक शर्माले जानकारी गराएका थिए । तालिमको सञ्चालन वीरगंज शाखाका कर्मचारी माधव ज्ञवालीले गरेका थिए ।




