
बैंकिङ खबर/ संसदलाई कानून तथा नीति बनाउने मूल थलोका रुपमा लिने गरिन्छ । तर यहि संसदमा जनताका मतले चुनिएर आएका सांसदहरु भनाभन र आरोप प्रत्यारोपमै व्यस्त हुन थालेका छन् ।
यहि बीचमा संसदभित्र विकासको मुद्दा उठाउने एक्ला सांसद बनेका छन् देवीप्रसाद भट्टचन । नेकपा एमालेबाट समानुपातिक सांसद बनेका भट्टचनले संसदभित्र निरन्तर एक्लै विकासका मुद्दा उठाइ रहेका छन् ।
सांसद भट्टचनको फरक प्रस्तुती
सांसद भट्टचनले फरक शैलीका कुरा एक्लै उठाइरहेका छन् । देशको आर्थिक विकासमा जोड दिँदै आएका उनले न अरु नेताको कुरा काट्छन् न विकास भन्दा बाहिर रहेर बोल्छन् । बोल्छन् त केवल विकास, निर्माण र समृद्धिका कुरा ।
उनले उठाउने हरेक विषय विकास र समृद्धिसँग जोडिने गरेका छन् । उनले हालै भनेका छन् ‘कुनै पनि नयाँ काम योजना र भिजन भएको नेताले गर्छ । भिजन योजना कसैलाई हावादारी पनि लाग्न सक्छ । यदि म २५८६ वर्ष अगाडि लुम्बिनीमा हुन्थेँ भने सिद्धार्थ गौतम जब दरबार छाडेर गए, मैले उहाँलाई पनि हावादारी काम गर्न जाँदै हुनुहुन्छ भन्थेँ होला ।’ उनले त्यसकुरालाई यसरी पृष्टि गरे की ‘आज सिद्धार्थ गौतम भगवानत्व प्राप्त गरे र आज विश्वभरि छाएर बस्नुभएको छ ।’
उनले सामुद्रीक तहबाट सामान ल्याउन सजिलो हुने कुरा पटक पटक उठाउँदै आएका छन् । जुन कुरालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले अघि बढाउने तत्परता देखाएका थिए । तथापी पानी जहाजबाट ढुवानी गर्ने कुरालाई कतिपयले हावादारी गफ भनेर बेवास्ता गर्दै आए । खासमा यसको सुत्रपात उनै भट्टचन थिए ।
उनले आफ्नो नेपाली झण्डा अंकित पानीजहाज सञ्चालनको लागि आवश्यक कर्मचारी र कार्यालयको व्यवस्था भए पनि विधेयक संशोधन गर्नु अगाडि कार्यान्वयन गर्न आवश्यक रहेको संसद समक्ष बताएका छन् । उनले कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाजको मलेसिया, सिंगापुर दुबैको सेवाबाट वार्षिक दुई अर्ब ढुवानी वापतको रकम विदेशी मुद्रा बचत हुने र स्वदेशमै रोजगारी सिर्जना हुने परिणाममुखी आयोजना अगाडि बढाउन अति आवश्यक रहेको बताएका छन् ।
त्यसो त उनले राष्ट्रिय गौरवका आयोजनाका विषयलाई उत्तिकै महत्वका साथ उठाउँदै आएका छन् । त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि उनले उठाएका विषय उत्तिकै महत्पूर्ण देखिन्छन् । भट्टचनले मेट्रो रेल गोदावरीबाट बुढानिलकण्ठ, थानकोटबाट भक्तपुर संचालन गर्नुपर्ने आबश्यकता पनि औल्याए । थानकोट–चित्लाङ सुरुङमार्गको व्यवस्थालाई निरन्तरता दिएमा काठमाडौंको बसोबासको चाप कम उनको अर्को धारणा छ ।
काठमाडौंको नजिक चित्लाङ इन्द्रशरोबनर तालमा आन्तरिक पर्यटन बढाउन सकिने उनले बताए । नेपालका उत्तरी भेगका जिल्लाहरूमा हेलिकप्टर सेवा सञ्चालन गर्न निकै समस्या रहेको सांसद भट्टचनले बताएका छन् ।
उनले तत्कालीन खप्पा बिद्रोहपछि हेलिकप्टरहरू उत्तरतर्फका जिल्लामा जान विभिन्न निकायबाट अनुमति लिनुपर्ने बाध्यता हटाउन सरकारसँग माग गरेका छन् । सांसद भट्टचनले नेपालको सबैभन्दा राम्रो उत्पादन दिन सक्ने जलाशययुक्त उत्तरगंगा आयोजनालाई शुरु गर्न आवश्यकता रहेको पनि औल्याएका छन् ।
को हुन् भट्टचन ?
सफल व्यवसायी समेत रहेका भट्टचन अर्थतन्त्रका संवाहक हुन् । झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका भट्टचन आर्थिक क्षेत्र राम्रोसँग बुझेका व्यक्ति मानिन्छन् । उनै उद्योगी व्यवसायी भट्टचनलाई नेकपा एमालेले समानुपातिक सांसद बनाएको थियो । भट्टचन आदिवासी जनजातीबाट पहिलो नम्बरमा समानुपातिकमा परेका थिए ।
भट्टचन त्यसअघि नेपाली कांग्रेसमा थिए । निर्वाचनभन्दा अगाडि एमालेमा प्रवेश गरेका भट्टचनलाई एमालेले समानुपातिक सांसद बनाएको थियो । बाग्लुङ जिल्ला स्थायी घर भएका भट्टचन ललितपुर जिल्लाबाट सिफारिस भएका थिए ।
त्यसअघि भट्टचन नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका थिए । उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि क्षेत्रीय कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको थियो । तर उक्त क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल उम्मेदवारी बनेका थिए ।
यो पटक पनि पार्टीले प्राथमिकता सूचीमा राख्न नखोजेपछि एमालेसँग भट्टचन नजिकिएका थिए । उनै भट्टचन अहिले सांसद बनेर संसदमा विकासका मुद्दालाई अगाडि बढाइ रहेका छन् ।




