
बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुवै कम्पनीहरूबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई प्रभु इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभाले स्वीकृति प्रदान गरेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राखिने भएको छ ।
२८ मंसिर ०७४ देखि कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा गरेको हो । साधारणसभाले संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले ९.८० प्रतिशत सेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जनरमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा बिमा प्राधिकरणको निर्देशनअनुसार असार मसान्तभित्र दुवै कम्पनी मर्ज भई एकीकृत कारोबार सम्पन्न हुने जानकारी गराइएको थियो ।
सभाले दुवै कम्पनीको सेयर अनुपात १ः१ कायम गरी गाभ्ने–गाभिने, दुवै कम्पनी एक–आपसमा गाभ्दा–गाभिँदा भएको अन्तिम सम्झौतापत्रलगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्नेलगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।




