
बैंकिङ खबर/देउखुरी लघुवित्त कर्मचारी मञ्चले शितगङगा –८ लापेको लापे माध्यमिक विद्यालयको सभा हलमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
देउखुरी लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा शितगङगा –८ का वडाध्यक्ष रुक बहादुर आले मगरको प्रमुख आथित्यता र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन भेष बहादुर विश्वकर्मा र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन टंक बहादुर ढकालको आतिथ्यतामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा जनप्रतिनिधि, सदस्यहरु तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अहिले देखियको लघुवित्त संस्थाहरु प्रतिको दृष्टिकोण, बचत, कर्जा, पारिवारिक बजेट अन्य धेरै विषयमा छलफल भएको थियो ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय सिसहनियाँका शाखा प्रमुख तथा देउखुरी लघुवित्त कर्मचारी मञ्चका सचिव सन्तोष पौडेलले कुनै एक व्यक्तिले लिएको ऋण अर्को व्यक्तिले गरेको बचतको रकम हो भन्ने कुरा ऋणीले कहिल्यै बिर्सनु नहुने बताए ।
उनले भने,‘आज कसैले म ऋण तिर्दिन भन्यो भने बैंकले बचतकर्ताको रकम फिर्ता दिन सक्दैन, त्यतिबेला ठूलो आन्दोलनको अवस्था आउन सक्छ ।’ सर्वसाधारणले खाइ–नखाई गरेको बचतबाटै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लघुवित्तले ऋण दिएको उनले बताए ।
उनले भने,‘लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ ।’ तर लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न समेत उनले सचेत गराए ।
कार्यक्रमको शुभारम्भमा लघुवित्तको विकासक्रमको बारेमा आशा लधुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन भेष बहादुर विश्वकर्मा र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड पाखापानीका शाखा प्रमुख रन बहदुर चन्दले शुरूवाती चरणबाट लघुवित्तको महत्व के कस्तो थियो र अहिले कस्तो छ भन्ने यसबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रुक बहादुर आले मगरले गरिबी हटाउन लघुवित्त हाम्रो जीवनमा चाहिने संस्था हो भन्दै कर्जा लिएर सहि सदुपयोग गरी गरिब हटाउन महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।
व्यापारी कमल प्रसाद श्रेष्ठ र उपस्थितहरुमध्येबाट बिना कुमारी बेल्बासे लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखाकी कर्मचारी प्रतीक्षा महतले स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख तथा देउखुरी लघुवित्त कर्मचारी मञ्चका सचिव सन्तोष पौडेलले गरेका थिए । कार्यक्रममा उठेका जिज्ञासा मेटाइ मञ्चका अध्यक्षले कार्यक्रम समापन गरेका थिए ।




