Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भुवन दाहालकाे नेतृत्वमा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ संस्थाकाे घाेषणा, डा. नेपालले गरे शुभारम्भ

२०८० जेष्ठ २६ गते


बैंकिङ खबर/ वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित फाइनान्सियल लिट्रेसी नेपालको शुभारम्भ गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले संस्थाको शुभारम्भ गरेका हुन् ।

नेपालको आर्थिक क्षेत्रलाई सुधार गर्नका लागि प्रयाप्त मात्रामा वित्तीय साक्षरताको खाँचो रहेको विष्लेषणसहित बैंकिङ तथा बीमा र पुँजी बजार क्षेत्रका विज्ञहरुको समूहले फाइनान्सियल लिट्रेसी नेपालको स्थापना गरेको हो ।

उक्त संस्थाले देशैभरीका वित्तीय, फाइनान्स, इकोनोमिक पढाउने शिक्षक तथा बैंक वित्तका कर्मचारीहरु तथा वित्तहरुलाई वित्तीय साक्षरता सम्बन्धि स्रोत व्यक्तिको रुपमा प्रशिक्षण दिन सक्नेगरी परिचालन गर्ने लक्ष्य लिएको छ ।

विशेषगरी संस्थाले वित्तीय साक्षरताको तालिम दिन सक्ने ट्रेनरहरु उत्पादन गर्नेछ । नियमनकारी निकाय, आर्थिक संघसंस्थाहरु, नेपाल उद्योग वाणिज्य महासंघ, सरकारी निकायहरु र अन्तर्राष्टिय संघसस्थाको सहकार्यमा संस्थाले कार्यक्रमहरु अघि बढाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले नेपालमा फाइनान्सियल लिट्रेसी बढ्न नसकेको अवस्थामा माथिल्लो तहदेखि ग्रासरुटसम्म रहेर काम गर्न संस्थालाई आग्रह गरे । उनले फाइनान्सियल लिट्रेसी मान्छेको जीवनको एक पाटो बनेको भन्दै हरेक व्यक्ति, संस्थालाई आवश्यक रहेको बताए । नेपालले फाइनान्सियल लिट्रेसीमार्फत देशको अर्थतन्त्रलाई सहयोग गर्न पनि आग्रह गरे ।

अर्थतन्त्रलाई सुधार्न वित्तीय साक्षरताको अपरिहार्य भन्दै उनले यसमा सम्बन्धित क्षेत्रका विज्ञहरु सक्रिय हुनुपर्ने बताए । यस्तै सम्पूर्ण क्षेत्रका विज्ञहरुबीच सहकार्यको खाँचो रहेको पनि उनको भनाइ छ । कार्यक्रममा संस्थाका अध्यक्ष एवं बैंकिङ विज्ञ भूवन दाहालले ‘वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै देशमा भ्रष्टाचार नियन्त्रणको खाँचो रहेको बताएका थिए । उनले नेपालमा सिंगापुर भन्दा धेरै प्राकृतिक स्रोत, साधन रहेपनि सहि रुपमा सदुपयोग हुन नसक्नु विडम्बनाको विषय भएको बताए । यस्तै दाहालले आर्थिक विज्ञहरु राजनीतिक क्षेत्रमा सक्रिय हुनुपर्ने बताए । प्रधानमन्त्रीको नेतृत्वमा आर्थिक संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र अन्य देशको तुलनामा राम्रो रहेको बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारले फर्दर पब्लिक अफरिङ्ग (एफपीओ) जारी गरेका कम्पनीबाट कर असुल गर्ने घोषणा गरेको भन्दै कुनै पनि देशमा यस्तो व्यवस्था नरहेको र यो दुर्भाग्य भएको बताए । उनले फाइनान्सियल लिट्रेसी नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा पूर्वबैंकर एवं इसेवा प्रा.लि.का अध्यक्ष पशुराम कुँवर क्षेत्रीले नेपालमा ग्रासरुट लभलमै फाइनान्सियल लिट्रेसीको खाँचो रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले आ–आफ्नै संस्थाबाटै लिट्रेसीको सुरुवात गर्नुपर्ने बताए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का निरन्जन फुयालले शेयर बजारमा लगानी गर्ने धेरै लगानी कर्तालाई यसमा रिक्स छ भन्ने थाहा नभएको अवस्था रहेको भन्दै बुझेर मात्र यसमा लाग्न आग्रह गरे । उनले पोलिसी मेकरदेखि फाइनान्सियल सेक्टरसम्म फाइनान्सियल लिट्रेसीको ज्ञान हुनु आवश्यक रहेको बताए ।

नेपाल बैंकर्स संघका सिईओ अनिल शर्माले हरेक क्षेत्रमा फाइनान्सियल लिट्रेसीको महत्व रहेको भन्दै योजनावद्ध रुपमा संस्थालाई अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा बैंकिङ विज्ञहरु कुमार लम्साल, शोभनदेव पन्त र रादेश पन्त लगायतले फाइनान्सियल लिट्रेसी राजनीतिक दल, नेतादेखि नीति निर्माता र तल्लो वर्गका व्यक्तिलाई समेत आवश्यक रहेको बताए ।

संस्थाका सदस्य माधव निर्दोष र वर्षा श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा कोषाध्यक्ष श्रीप्रसाद भण्डारीले धन्यवाद ज्ञापन गर्दै संस्थाले नयाँ–नयाँ जोस र जाँगरका साथ काम गर्ने बताए ।

डा.चिरञ्जीवि नेपाल संरक्षक रहेको संस्थामा भुवन दहाल अध्यक्ष, निरज गिरी सचिव, श्रीप्रसाद भण्डारी कोषाध्यक्ष र सदस्यहरुमा शिवनाथ पाण्डे, देवेन्द्र गौतम, वर्षा श्रेष्ठ, रेशमराज रेग्मी, रविराज भट्टराई, दिलमान सिंह चन्द, परशु नेपाल र माधव निर्दोष रहेका छन् ।