Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्यवसायीलाई हतोत्साही नबनाउन बैंकहरूलाई उद्योग वाणिज्य संघको आग्रह

२०८० जेष्ठ १८ गते

बैंकिङ खबर/ सुर्खेत उद्योग वाणिज्य संघले जिल्लास्थित सम्पूर्ण बैंकहरूसँग आवश्यक सहयोग मागेको छ । बिहीबार संघको सम्पूर्ण टिमसहित बैंकका शाखा प्रबन्धकसँग आवश्यक सहयोगका लागि भन्दै अनुरोध पत्र समेत बुझाएको छ।
वाणिज्य संघले कोभिड १९ को विश्वव्यापी महामारीका कारण करिब दुई वर्षसम्म ठप्प रहेको आर्थिक गतिविधि कोभीड नियन्त्रणपछि आंशिक रुपमा चलायमान हुँदै गएको उल्लेख गरेको छ।

संघले त्यसैमा नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी निर्देशिका २०७९, बैंकहरुमा देखिएको तरलता अभावका कारण ऋण प्रवाहमा गरिएको संकुचन तथा कर्जा असुलीमा गरिएको कडाईका कारण निजी क्षेत्र फेरि तहस नहस हुने संघारमा पुगेको बताएको छ।

साथै आर्थिक गतिविधि शिथिल हुँदै जाँदा फर्म पसलहरु दिनप्रतिदिन बन्द हुँदै गएपछि मुख्य बजारहरुमा सटर बन्द रहेको र आर्थिक गतिविधि नै ठप्प भएपछि व्यवसायीहरु पलायन मात्र नभइ मानसिक तनावमा पुगेको भन्दै वाणिज्य संघले बैंकहरुसँग सहयोग मागेको हो।

यस्तै, संघले बैंकहरुबाट निजी क्षेत्रले यसअघि कहिल्यै भोग्न नपरेको आर्थिक संकटको संवेदनशील क्षणमा एक अर्काका परिपूरकका रुपमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई ठडिनका लागि आडभरोसा दिई असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने आशा राखेको वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए।

साथै अध्यक्ष कँडेलले निजी क्षेत्रमाथि आईलागेको आर्थिक संकट र बाध्यताकाबीचबाट आफ्नो फाइदा मात्र उठाउने नभई मानवीय हिसाबले पनि निजी क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारका रुपमा अगाडि बढ्न बैंकहरुलाई आग्रह गरे।

कँडेलले उद्योगी व्यापारीको सर्वश्व सखाप हुने गरी धितो लिलामलाई मात्र विकल्पका रुपमा नहेरी आर्थिक संकटबाट उकास्नका लागि ऋण भाखा नाघेको अवस्थामा म्याद थप, कर्जा नवीकरण आदि जस्ता सहयोगी नीति अख्तियार गरी निजी क्षेत्र र बैंक दुवै पक्षको समझदारी गर्न अनुरोध गरे। यसैबीचमा संघले नेपाल राष्ट्र बैंक सुर्खेत मार्फत नेपाल राष्ट्र बैंक गर्भनरलाई पनि ध्यानर्षण पत्र पठाएको छ।