Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वैशाखमा घट्यो घरजग्गा कारोबार

२०८० जेष्ठ १ गते

बैंकिङ खबर/वैशाखमा घरजग्गा कारोबार घटेको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैत महिनाको तुलनामा वैशाखमा घरजग्गा कारोबार खस्किएको हो ।

गत चैत महिनामा ४९ हजार घरजग्गा किनबेच भएको थियो । वैशाखमा बढ्नुको साट्टो झनै घटेको विभागले जनाएको छ । विभागअनुसार वैशाख महिनामा चैत महिनाको तुलनामा ७ हजार कम घरजग्गा किनबेच भएको छ । वैशाखमा देशभरका मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएको छ । यी कित्ताकाट भइसकेका जग्गाको किनबेच भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा ३ हजार ३७८ वटा घरजग्गा नामसारी, ५ हजार १२० वटा संशोधन, ३० हजार ५७२ वटा रोक्का र २३ हजार ६४२ वटा फुकुवा भएका छन् । साथै, वैशाखमा ३० वटा अपार्टमेन्ट बिक्री भएको विभागले जनाएको छ ।

वैशाखमा साढे ४२ हजार घरजग्गा किनबेच हुँदा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा बढी किनबेच भएको देखिन्छ । उक्त मालपोत कार्यालयबाट १६ सय ५६ वटा घरजग्गा किनबेच भएको छ । त्यसैगरी, बेलबारी मोरङबाट १६ सय ५४ वटा, जनकपुरधाम धनुषाबाट १५ सय २१ वटा, नेपालगञ्ज बाँकेबाट १५ सय २ वटा, दमक झापाबाट १२ सय २ वटा र भद्रपुर झापाबाट ११ सय ३८ वटा घरजग्गा किनबेच भएको तथ्यांक छ ।

साथै, वैशाख महिनामा ३१ हजार ६९४ जग्गा वर्गीकरण भई ७० हजार ६१७ कित्ता कायम भएको छ । वैशाखमा उपत्यकाको कारोबार झनै घटेको छ । गत चैतमा ४ हजार ६१८ वटा घरजग्गा किनबेच भएको थियो । वैशाखमा १ हजारले घटेर ३ हजार ६८३ वटा घरजग्गा किनबेच भएको छ ।

विभागअनुसार ललितपुर मालपोतबाट ८८१ वटा, गोटीखेलबाट १५ वटा, भक्तपुरबाट ८६६ वटा, डिल्लीबजारबाट १८१ वटा, चावहिलबाट ३९४ वटा, कलंकी ५८० वटा, साँखुबाट ३८३ वटा, मनमैजुबाट २२९ वटा र टोखा मालपोत कार्यालयबाट १५४ वटा घरजग्गा किनबेच भएको छ ।

वैशाखमा कारोबार घट्दा राजस्व संकलन पनि घटेको छ । गत चैतमा साढे ४ अर्ब राजस्व संकलन गरेको थियो । वैशाखमा ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्याङ्कअनुसार चैतको तुलनामा वैशाखमा १ अर्ब रुपैयाँले कम राजस्व संकलन गरेको छ ।

वैशाखमा साढे ३ अर्ब राजस्व संकलन गरेकोमा २२ करोड ३६ लाख रुपैयाँ, बागमतिवापत ८ करोड ६० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब ७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साथै, वैशाखमा २९ करोड १६ लाख रुपैयाँ छुट दिएको छ ।

वैशाखमा सबैभन्दा बढी लगनखेल ललितपुर मालपोत कार्यालयबाट २७ करोड ७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, कलंकी मालपोत कार्यालयबाट २२ करोड ५५ लाख रुपैयाँ, चावहिलबाट २२ करोड ५० लाख रुपैयाँ, डिल्लीबजार कार्यालयबाट १८ करोड ५० लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १७ करोड ८० लाख रुपैयाँ, कास्की मालपोत कार्यालयबाट ११ करोड ३० लाख रुपैयाँ र चितवन मालपोत कार्यालयबाट ११ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।