Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा

२०८० बैशाख २४ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएका छन् । बीमा प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ ।

गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बीमाको दायरामा रहेकोमा एक वर्षमा ७ प्रतिशत विन्दु भन्दा बढीले वृद्धि भएको छ । उक्त तथ्यांकमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेत समावेश रहेको प्राधिकरणले जनाएको छ ।

चैत मसान्तसम्म १ करोड ४१ लाख ६५ हजार ९९८ बीमलेख जारी भएको छ । जसमध्ये जीवन बीमालेख संख्या ५५ लाख ७२ हजार ५२ वाट पुग्दा म्यादी तथा लघु म्यादी जीवन बीमालेख संख्या ७१ लाख ३४ हजार ६३१ र वैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ५२ हजार ८२७ पुगेको बीमा प्राधिकरणले जनाएको छ ।

२०७८ चैत मसान्तमा १ करोड १७ लाख ९१ हजार ६९८ रहेको बीमालेख संख्या एक वर्षमा २०.१४ प्रतिशतले वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । वैदेशिक रोजगार जीवन बीमालाई हटाउँदा भने बीमाको दायरामा आएको नागरिकको ३९.७४ प्रतिशत पुगेको बीमा प्राधिकरण्को तथ्यांक छ ।

गत आवको तेस्रो त्रैमासमा ३४.५२ प्रतिशत रहेको थियो । यस्तै म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार जीवन बीमालाई हटाउँदा भने जीवन बीमा गर्ने नेपाली १७.४३ प्रतिशत पुगेको छ । एक जनाले एक भन्दा बढी बीमालेख खरिद गरेको हुनसक्ने भएकोले कुल जारी भएको बीमालेखामा ५ प्रतिशत घटाएर बीमाको दायरामा रहेको नागरिकको प्रतिशत निकालिएको बीमा प्राधिकरणले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीले कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढी हो । बीमालेख संख्या २० प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि जीवन बीमा कम्पनीको कुल बीमाशुल्क भने २.१४ प्रतिशतले मात्रै वृद्धि भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।