
बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोही अनुसार तयारी गरिरहेको बताए ।
“कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ । तपाईंहरूको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढङ्गले सोच्न सहयोग पुग्ने ठानेको छु । उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन”, उनले भने ।
लघुवित्त र सहकारीलाई श्रम तथा उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । उनले भने, ‘लघुवित्त र सहकारी वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ । यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ । नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौँ ।’



