Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्छः अर्थमन्त्री

२०८० बैशाख १४ गते

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्या भएको बताएका छन् । अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने मन्त्री महतको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो शिथिलता आउनुको कारणबारे निजी क्षेत्र जानकार रहेको बताए । अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एक मौद्रिक नीतिलाई एउटा परिवेशमा राष्ट्र बैंकले कसिकसाउ राखेको स्मरण गर्दै उनले वित्तीय नीतिले पनि केही समस्या ल्याएको बताए ।

‘मौद्रिक कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो,’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्व (गभर्नर)लाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

महँगो ब्याजदरले पनि समस्या सिर्जना गरेको बताए । ब्याजदरले बजारमा पूँजी प्रवाह गर्न नदिएको र मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको बताए । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न सकिने मन्त्री डा. महतको भनाइ छ ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून ३० प्रतिशत मात्रै भएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ,’ उनले भने, ‘हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा छ, समस्या समाधानका लागि निर्णय नहुँदा उत्पन्न हुने समस्या छ ।’