
बैंकिङ खबर/ आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०८० वैशाख १० गते देखि ११ गते सम्म आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जोखिम तथा असुली व्यवस्थापन तालिम हरी कुमार सिलवाल तथा श्रवण कुमार सपोर्ट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।
साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी लगाएत विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ तथा राजिव डंगौराले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालीम प्रदान गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ट शाखा प्रबन्धक श्री राजाराम यादवलाई प्रसंशापत्र सहित नगद पुरस्कारले सम्मान गरिएको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।
हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. ५ अर्ब १४ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।




