
बैंकिङ खबर/ सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डोलिन्द्र प्रसाद शर्माले लघुवित्त विरूद्वको अतिरञ्जना र गतिविधिले राज्य नभएको अनुभूति भएको बताए । मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ शृंखला अन्तर्गत अन्तरक्रियामा बोल्दै उनले भने, ‘लघुवित्त विरूद्व जुन किसिमको अतिरञ्जना फैलाइएको छ, त्यसले राज्य नभएको अनुभुती भएको छ ।’
लघुवित्त क्षेत्रमा समग्र नेपाल घुमेर हेर्दा नियमनकारी निकायले राम्रोसँग नियमन गर्न नसकेको उनले बताए । आमरूपमा सहकारी र लघुवित्तको फरकलाई छुट्याउन नसकिएको र त्यसले थप समस्या ल्याएको उनको भनाइ थियो ।
‘हामीले १५ प्रतिशतमा ऋण लिएर १४ प्रतिशतमा कर्जा लगानी गर्दा कसरी चक्रवर्ति ब्याजमा गयौं ? ,’ उनले प्रश्न गरे । नियमनकारी निकायले खुला छोड्दा पुरै छोड्ने र कस्दा घाँटी नै च्याप्ने प्रवृत्तिले समस्या ल्याएको उनले बताए । ‘सबै संस्थालाई एउटै बास्केटमा राखेर हेर्न मिल्दैन । लघुवित्तको आवश्यकता हो भने सोही अनुसार प्राथमिकता र व्यवस्थाहरू गर्नसक्नुपर्छ,’ उनी भन्छन्। मर्जर मात्र समस्याको समाधान नभएको उनको भनाइ छ । लघुवित्त बीचको अस्वस्थ प्रतिस्पर्धालाई नियामकले नियमन गर्न नसकेको उनको दाबी छ । केही लघुवित्तले ग्रामीण क्षेत्रमा ऋण नै नचाहिएकाहरूलाई कर्जा दिने गरेको र त्यस्ता ठाउँमा समस्या ल्याएको उनले बताए लघुवित्तहरू स्वनियमनमा बस्नुपर्ने र नियम कानुन बनाउँदा पनि सम्बन्धित निकायले छलफल गर्नुपर्ने उनले शर्माको सुझाव थियो ।




