
बैंकिङ खबर/२०७९ मा सबैभन्दा बढी लघुवित्तप्रति चौतर्फी आक्रमण भयो । लघुवित्तको ऋण नतिर्ने बहानामा विभिन्न आन्दोलनहरु भए । विभिन्न राजनीतिक दलहरुनै लघुवित्तविरुद्ध लागे । गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरेर स्थापना भएको लघुवित्तमाथि संसद भवन होस् वा राजनीतिक दल, सञ्चार माध्यम अथवा लघुवित्तविरुद्ध स्थापना भएका विभिन्न संघर्ष समिति लघुवित्तविरुद्ध जाइ लागे ।
झापामा आयोजित कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंले लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने जस्ता अभिव्यक्ति दिए ।
अर्कोतर्फ लघुवित्तका कर्मचारीमाथि आक्रमण समेत भयो । फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमासो दलियो। सो घटनामा लुटपाट समेतका जघन्य काम भयो।फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारी त्रिदेव मण्डलमाथि कुटपिट भयो। लघुवित्तपीडित संघर्ष समितिका सदस्यहरुले उनलाई धनपालनाथ गाउँपालिकामा कुटपिट गरे।
फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो। विराटनगरमा केही समूहले बैंक तथा वित्तीय संस्था बन्द गर्न लगाउने र कर्मचारीसहित सेवाग्राहीमाथि नै धरपकड समेत गरेको थियो।



